टोखा-छहरे सुरुङमार्ग र चिलिमे-केरुङ २२० केभी प्रसारण लाइन अघि बढाउने सहमति

काठमाण्डौं, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा रसुवागढी र तातोपानी नाका जोड्ने मुख्य सडक विस्तारमा सहमति भएको छ। टोखा छहरे सुरुङमार्ग, स्याफ्रुबेसी रसुवागढी र अरनिको राजमार्ग बिस्तारको काम अघि बढाउने सहमति नेपाल र चीनबीच भएको हो।

दुबै देशले संयुक्त वक्तव्य जारीगर्दै सडक पूर्वधार र जलविद्युतका क्षेत्रमा भएका सहमति सार्वजनिक गरेका छन्।

 

सहमतिअनुसार नेपाल र चीनबीच अरनीको राजमार्गको चौथो चरणको विस्तारलाई अघि बढाइने छ। चाइनाले स्याफ्रुबेसी रसुवागढी राजमार्ग मर्मत सुरु गर्नेछ। टोखा– छहरे सुरुङमार्गको संभाव्यता अध्ययनलाई तिब्रता दिने सहमति पनि भएको छ। काठमाडौंको चक्रपथ दोस्रो चरणको काम शुरु गर्ने सहमति पनि दुई देशबीच भएको संयुक्त वक्तव्यमा उल्लेख छ। दुबै पक्ष केरुङ काठमाडौं क्रस बोर्डर रेलवेको संभाव्यता अध्ययनमा सहमत भएका छन्।

नेपालमा रेलसम्बन्धी दक्ष जनशक्ति उत्पादनको लागि चीनले सहयोग गर्ने समझदारी पनि दुई देशबीच भएको छ। त्यस्तै नेपाल र चीनले विद्युत क्षेत्रमा सहकार्य गर्ने भएका छन्। चिलिमे रसुवागढी २२० केभी प्रसारण लाइन निमार्ण गर्न पनि दुई देश सहमत भएका छन्। नेपालको उत्तरी क्षेत्रमा चीनबाट विद्युत आपूर्ति गर्न नेपालको मागमा चीन सकरात्मक देखिएको छ।

यी समझदारी शुरुमा सार्वजनिक भएका १३ बुँदे सम्झौतामा उल्लेख नभएपनि संयुक्त वक्तव्यमा समावेश गरिएको हो।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु