चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाको आठौं बार्षिक साधरण सभा सम्पन्न

कालिका, २५ भदौं । कालिकाको पदमपुरलाई लक्षितगरी सेवा दिँदै आएको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाको आठौं वार्षिक साधरण सभा सोमवार पदमपुरमा सम्पन्न भएको छ ।

कालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेलले साधरण सभाको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष पौडेलले चेतनाचेली बहुउद्देश्यीय सहकारी संस्था सम्बृद्ध कालिका बनाउने अभियानमा सक्रिय भएर जुटेको बताउनुभयो । आफ्नै वडाभित्र कार्यालय स्थापना गरेर सेवादिँदै आएको संस्थाले व्यवसायिक तरकारीखेती देखि व्यवसायिक पशुपालन लगायत महिलाहरुलाई आत्मनिर्भर बनाउने अभियान लागेकाले सहकारीका कामप्रति खुशी व्यक्त गर्नुभयो ।

वडाले यो सहकारी संस्थाका लागि प्रशासनिक खर्च प्रयोजनमा सहयोग पुर्याउनेगरी बजेट समेत विनियोजन गरेको जानकारी दिनुभयो । चेलीहरु आफैले बहउद्देश्यीय योजना लिएर संचालन गरेको सहकारीसँग सधैभरी स्थानीयतह हातेमालोगर्न तयार रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडा अध्यक्ष पौडेलले सानासाना कुरामा रमाउन सके यसले बेग्दै खुशी दिने बताउनुभयो । कृषि र पशुपालन क्षेत्रमा कर्मगरिरहेका सहकारी संस्थाका दिदिबहिनीहरुलाई थोरै थोरै आम्दानीमा रमाउन आग्रहगर्नुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ, चितवनका हरिहर सुवेदीले चितवनको विकासमा सहकारीले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । यस्तै जिल्ला बहुउश्यीय सहकारी संघका भिष्म खनालले चेतनाचेली बहुउद्देश्यीय सहकारी संस्थाको कामलाई जिल्ला बहुउश्यीय सहकारी संस्थालेपनि नजिकवाट नियालिरहेको बताउनुभयो । थोरै पुँजी भएरपनि सहकारी ऐन अनुसार नीति नियमभित्र रहेर कार्यसम्पादनमा अब्बल देखिएका कारण अघिल्लो वर्ष जिल्लाकंै उत्कृष्ट सहकारी बन्न सफल भएको बताउनुभयो । देशभर ३२ हजार सहकारी रहेको बताउँदै खनालले सहकारीको विषयमा भइरहेको हल्लालाई सत्यतथ्य नबुझि हल्लाकै भरमा नलाग्न सबैलाई सचेत गराउनुभयो ।

कार्यक्रममा कालिका नगरपालिकाका सहकारी शाखा प्रमुख प्रकाशचन्द्र पौडेलले सहकारीहरु बचत तथा ऋणसँगै उद्यमशीलता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । नगरक्षेत्रभित्रका महिलाहरुलाई उद्यमी बनाउन कालिका नगरपालिकाले विशेषखालका कार्यक्रमहरु संचालनगर्दै आएको जानकारी दिँदै सहकारी शाखा प्रमुख पौडेलले नगरपालिका यस्ता खालका बहुउद्देश्यीय सहकारीहरुसँग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको स्पष्टपार्नुभयो । महिलाहरुलाई उद्यमशील बनाउन सके उद्यमगरे वापत आएको पैसालाई बचतगर्न सहज हुने उहाँले बताउनुभयो ।

सहकारीले आर्थिक वर्ष २०८०÷०८१ मा आफ्नो शेयर सदस्य बृद्धिगर्ने नीति तथा कार्यक्रम लिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु लामाले संस्थाको कार्यप्रगती विवरणसँगै आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा प्रस्तावित कार्यक्रममा ६०५ जना शेयर सदस्यवाट ८१ जना थप गरी ६ सय ८६ पुयाईने बताउनुभयो ।

यस्तै हाल संस्थामा रहेको ५६ लाख ३ हजार ३ सय शेयर रकमलाई बृद्धिगरी ६३ लाख ९ हजार ३ सय पुर्याउने लक्ष्य रहेको सुनाउनुभयो ।

कार्यक्रममा सहकारीकर्मी आनन्द पाण्डे, ज्योति सामुदायिक विकास सेवा नेपालका राजन सुनार, संस्थाका निवर्तमान अध्यक्ष कविता न्यौपाने, चेली नेपालकी केमिका घिमिरे, आफन्त नेपालका अनिता खड्का लगायतले बोल्नुभएको थियो । संस्थाकी उपाध्यक्ष कमला प्रजाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा आफ्ना शेयर सदस्यहरु मध्ये ३ जना जेष्ठ नागरिकहरुलाई नगद र दोसल्ला सहित सम्मान गरेको छ ।

सम्मानित हुनेमा ९५ वर्षकी कान्छीमाया तामाङ, ७२ वर्षकी मङरी महतो, ७२ वर्षकै ठूलीमाया लामालाई सम्मान गरिएको हो । यस्तै सबैभन्दाबढी बचतगर्ने कल्पना गुरुङलाई पनि सम्मान गरिएको छ । यस्तै व्यवसायिक तरकारीखेतीगर्न र व्यवसायिक पशुपालनगर्न सफल आफ्ना कृषक शेयर सदस्यहरुलाई पनि नगद सहित सम्मान गरिएको छ । सहकारी संस्थाकी व्यवस्थापक निरु तामाङले संचालन गर्नभएको कार्यक्रममा संस्थाको अध्यक्ष विष्णु लामाको अध्यक्षतामा आयोजना गरिएको हो ।

 

–00–

 

Share:

सम्बन्धित समाचारहरु