चितवन,१२ भदौं । गैँडाकोट नगरपालिका– २ मा रहेको गैँडाकोट इङ्गलिस स्कूल ‘क’श्रेणीमा पर्न सफल भएको छ । गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गरेको नगर भित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादन मूल्याकंनका आधारमा गरिएको वर्गीकरणमा गैँडाकोट इङ्लिस स्कुल ‘क’ श्रेणीमा पर्न सफल भएको हो ।
युवा तथा खेलकुद शाखाले गठन गरेकोे विज्ञ टोलीले २० वटा संस्थागत विद्यालयहरुमा गरिएको अध्ययनका आधारमा उत्कृष्ट घोषणा गरिएको स्कुलले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।
नगरपालिकाले ९० अंकभन्दा बढी ल्याउनेलाई ‘क’, ७० देखि ९० सम्मल्याउनेलाइ ‘ख’, ४० देखि ७० सम्म ल्याउनेलाई ‘ग’ र ४० भन्दा कम ल्याउनेलाई ‘घ’ श्रेणीमा वर्गीकरण गर्ने उल्लेख गरेको थियो । टोलीले पछिल्लो तीन वर्षको नतिजा, भौतिक संरचना, सेवासुविधा, विद्यार्थी एवम् अभिभावकको सन्तुष्टी, शिक्षकको योग्यता, सूचना प्रविधि समुदायको सहभागितालगायतका ९० भन्दा बढी विषयवस्तुलाई आधार मानेको थियो ।
यस्तै विसं २०६२ सालमा स्थापना भएको यस स्कुल हालसम्म आइपुग्दा स्कुलले फरक पहिचान बनाउन सफल भएको छ । जसमा विसं.२०७२ सालमा गैँडाकोट नगरपालिकाद्वारा पहिलो बालमैत्री तथा वातावरणमैत्री विद्यालय घोषित हुन सफल भएको थियो भने विसं। २०७२ सालमा गैँडाकोट नगरपालिका तेस्रो नगरसभाद्वारा सम्मानित भएको स्कुलको विज्ञप्तिमा उल्लेख्ख गरिएको छ ।
यस्तै विसं। २०७४ सालमा व्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कल (आईयसए) प्राप्त, २०७५ सालमा व्रिटिस काउन्सिलद्वारा कनेक्टिङ क्लासरुमअन्तर्गत गैँडाकोट इङ्लिस स्कुल र बेलायत आयरल्यण्डमा अवस्थित बोटानिक प्राइमरी स्कुल बीचमा टिचर एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको थियो । विसं. २०७७ मा व्रिटिस काउन्सिलबाट अन्तर्राट्रिय स्कुल अवार्ड (आईयसए) पुनःप्राप्त गर्न सफल भएको थियो । प्रत्येक वर्ष जिल्लास्तरीय स्क्रयाबल (अक्षरहरु मिलाएर खेल्ने खेल) प्रतियोगिता सञ्चालन गर्दै आइरहेको यस स्कुललाई विसं. २०७५ देखि र २०७९ स्क्रयाबल राष्ट्रिय प्रतियोगिता सञ्चालन गरेको थियो । यस्तै सन् २०२२ को अन्तर्राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा ( बङ्गलादेश) यस स्कुलका अर्नभ पाण्डेले प्रथम स्थान हासिल गरेको विज्ञप्तिमा जनाइएको छ ।
नगरपालिकाको वर्गीकरण अनुसार “ख” श्रेणीमा अक्सफोर्ड सेकेन्डरी स्कुल, सरस्वती निकेतन इङ्गलिस बोडिङ्ग स्कुल, कन्टीनेन्टल इङ्गलिस बोडिङ्ग स्कुल, गैँडाकोट नमुना इङ्गलिस बोडिङ्ग स्कुल, शाइनिङ इङ्गलिस बोडिङ्ग स्कुल, विजय सामुदायिक शिक्षा सदन, मुकुन्दसेन इङ्गलिस बोडिङ्ग स्कुल र सूर्योदय विद्या मन्दिर र बालविकास ईङ्ग्लिस बोर्डिङ्ग स्कुल परेका छन् ।
त्यसैगरी “ग” श्रेणीमा सरस्वती बालशिक्षा सदन, शिशु निकेतन स्कुल, एभरग्रीन एकेडमी, निर्मल मिलिनियम इङ्गलिस बोडिङ्ग स्कुल, त्रिमूर्ती विद्या मन्दिर, ज्ञानकुञ्ज इङ्गलिस बोडिङ्ग स्कुल, किड्सहोम एकेडेमी, अमर इङ्गलिस बोडिङ्ग स्कुल र युनिक इङ्गलिस बोडिङ्ग स्कुल रहेका छन् ।
नगरपालिकाले विद्यालयको स्तर निर्धारण गर्नको लागि लगानी, प्रक्रिया, उपलब्धि र सेवालाई मुख्य आधार बनाएको थियो । विज्ञहरुको टोलीले स्थलगत अवलोकन र सरोकारवालासँग अन्तरवार्ता गरेर कार्यसम्मापदन परीक्षण गरेको थियो।




