फागुन १९ काठमाडौं। संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका छन्।
रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्नेसम्बन्धी संयुक्त राष्ट्रसंघको आपतकालीन महासभामा प्रस्तुत प्रस्तावका पक्षमा नेपालले पनि मतदान गरेको छ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा बुधबार राति भएको मतदानमा नेपालले पक्षमा मतदान गरेको हो। अमेरिकालगायत पश्चिमा मुलुकसँगै नेपाल पनि युक्रेनमा रुसले गरिरहेको सैन्य आक्रमणको विरोधमा उभिएको हो।संयुक्त राष्ट्रसंघ महासभाका १९३ सदस्य देशमध्ये नेपालसहित १४१ वटाले प्रस्तावका पक्षमा मत हालेका हुन्। उक्त प्रस्तावमा रुसले युक्रेनमा जारी राखेको हमला रोकिनुपर्ने माग छ। युक्रेन मामिलामा विश्वका मुलुक विभाजित देखिएका छन्। अमेरिका र उसका गठबन्धनमा रहेका मुलुकले रुसको कडा विरोध गर्दै युक्रेनका पक्षमा वकालत गरिरहेका छन्। जसमा नेपाल पनि सहभागी भएको हो।
बुधबार राति भएको महासभाको मतदानमा चीन र भारत भने अनुपस्थित रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। सुरूदेखि नै यी दुई मुलुकले आक्रमणको विरोध गरेका छैनन्। मानव अधिकार काउन्सिलको मतदानमा त चीनले रूसको पक्षमा मत हालेको थियो। बुधबारको मतदानमा भारत र चीनसहित ३५ मुलुक अनुपस्थित भएका थिए।रूसका पक्षमा भने पाँच भोट आएको थियो। उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले रूससँगै मिलेर विपक्षमा भोट हालेका थिए। महासभाले पारित गरेको प्रस्ताव बाध्यकारी नहुने भए पनि यसले कूटनीतिक रूपमा रूसलाई विश्वमा एक्ल्याएको छ।
नेपाल सुरूदेखि नै युक्रेनमाथि भएको रूसी आक्रमणको विरोधमा छ। सार्वजनिक रूपमै नेपालले आफूलाई युक्रेनको पक्षमा उभ्याएको यो चौंथो पटक हो। रूसले युक्रेनमाथि आक्रमण गरेको पहिलो दिन नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो ।उक्त विज्ञप्तिमार्फत् नेपालले युक्रेनमाथि रूसले गरेको आक्रमण संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत भएको बताएको थियो।
‘संयुक्त राष्ट्रसंघको सदस्य हुनुका नाताले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएबमोजिम कुनै पनि मुलुकको सार्वभौमिकता र अखण्डताको पूर्ण सम्मान गर्नुपर्छ भन्ने ठान्छ,’ विज्ञप्तिमा भनिएको थियो, ‘कुनै पनि सार्वभौम मुलुकविरूद्ध कुनै पनि परिस्थितिमा शक्तिको प्रयोग गर्ने कुराको नेपाल विरोध गर्छ र कूटनीति र वार्तामार्फत् विवादको शान्तिपूर्ण समाधान गर्न सकिने विश्वास गर्छ।