चितवन, ८ भदौं । पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जाल फेसबुकबाट भरतपुर १६, चितवनकी पूर्णमाया गुरुङसँग कुरा मिलिसकेको बताएपनि गुरुङले भने आफू कानूनी प्रकृयामा गइसकेकोले उपाध्यायले गरेको गाली बेइज्जतीको उपचार कानूनबाटै खोजिने बताएकी छन् ।
उनले आफूले बिना अपराध सामाजिक सञ्जालबाट खेपेको गाली बेइज्जती बिरुद्ध प्रहरीमा गइसकेपछि कसैले जबरजस्ती उजुरी फिर्ता गर भनेर नहुने बताएकी हुन् ।- ,‘मैले सामाजिक सञ्जालको त्यो पोष्टमा म धरानको होइन र मैले गोरुको मासु खाएको होइन भनेर पटक पटक भनेँ । पोष्ट हटाउन अनुरोध गरेँ । तर, वास्ता भएन । अब कानूनी प्रकृयामा गइसकेको छु । मैले होइन निर्णय कानूनले नै गर्छ – गुरुङले भनिन्
उनले उपाध्यायलाई फोन नगर्नु भनेर पटक पटक बताउँदा पनि हैरान गरेपछि उनको नम्बर नै ब्लक गरिदिएको पनि बताइन् । आफ्नो सामाजिक बेइज्जतीको पीडा एक फोन कलबाट सरी भनेर नभरिने भएकोले उनले सामाजिक सञ्जालमा भनेजस्तो माफी नदिएको जानकारी दिइन् ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले पनि हिजो साइबर अपराधमा उजुरी दर्ता भइसकेको र अनुसन्धान प्रकृयामा प्रहरी गइसकेको जानकारी दिए ।–00–


