चितवन, २४ साउन । नेपाल क्रिकेट संघ (क्यान) चितवनको अध्यक्षमा सुदीप पिया निर्वाचित भएका छन् । मंगलवार साँझ भएको चुनावमा पूर्व खेलाडीहरुको उम्मेदवारका रुपमा देखिएका मनिष सापकोटालाई ३ मतले पराजित गर्दै सुदीप पिया अध्यक्षमा निर्वाचित भएका हुन ।
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काको समर्थन सापकोटालाई थियो । उनको पक्षमा पूर्वखेलाडीहरुलाई कन्भिन्स गर्न पारस आफैं चितवन पुगेका थिए ।
‘केही दिन अघिसम्म उहाँ उठ्नु हुँदै छ भन्ने थाहै थिएन’, अध्यक्षमा निर्वाचित ४८ वर्षीय पियाले भने । पिया र सापकोटा दुवै पूर्वक्रिकेटर हुन् । पिया पछिल्लो समय क्रिकेटबाहेक व्यवसायमा पनि संलग्न छन् । उनी अघिल्लो कार्यकालमा उपाध्यक्ष थिए । निर्वाचनमा ४७ जनाले मतदान गरेका थिए । चितवन क्रिकेट जिल्ला संघ २०५३ सालमा स्थापना भएयता त्यहाँ पहिलोपटक मतदानमार्फत कार्यसमिति चयन भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र एक महिलासहित ११ सदस्य गरी कुल १५ सदस्यीय कार्यसमितिका लागि मतदान भएको थियो ।
सापकोटा र पिया दुवै प्यानल बनाएर उठेका थिए । सापकोटाको प्यानल १२ सदस्यीय थियो भने पियाको १५ सदस्यीय । तर, पिया र उनको प्यानललाई निर्वाचित हुन सजिलो भएन । निर्वाचनमा दुवै प्यानलबीच कडा प्रतिस्पर्धा भयो । सापकोटा प्यानलका एक सदस्यले पूर्वखेलाडीहरुको समर्थन आफ्ना उम्मेदवारलाई रहेको बताए ।
निर्वाचित भएपछि पियाले आफ्नो कार्यकाल गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तयारीसहित विभिन्न प्रतियोगिता सञ्चालन र ग्रासरुट क्रिकेटको विकासमा केन्द्रित हुने बताएका छन् ।

–00–

