काठमाण्डौं, १९ साउन । एक वर्षदेखि तलब नपाएपछि वन पैदावार विकास समितिका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु विभिन्न माग राख्दै बबरमहलस्थित वन विभाग परिसरमा विगत ११ दिनदेखि आन्दोलनरत छन् ।
वन पैदावार विकास समिति अन्तर्गत सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षारोपण आयोजनाका करिब २ सय जना कर्मचारीहरुले एक वर्षदेखि तलब पाएका छैनन् । समितिको बबरमहलस्थित केन्द्रीय कार्यालयमा १३ जना, रतुवामाई आयोजनामा ४८ र सागरनाथ वन विकास परियोजनामा १४६ जना कर्मचारी कार्यरत छन् । उनीहरुको तलबभत्तामा मात्र मासिक ७६ लाख रूपैयाँ खर्च लाग्छ । तर, दुवै आयोजनाको काठलगायतका वन पैदावार विक्रि नहुँदा कर्मचारीहरुले तलब नपाएका हुन् ।
सर्लाहीमा कार्यालय रहेको सागरनाथ वन विकास परियोजना महोत्तरी, सर्लाही र रौतहटको १३ हजार ५१२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । झापामा अवस्थित रतुवामाई वृक्षारोपण आयोजना केर्खाको २ हजार ७ सय ५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । दुवै परियोजनारआयोजनाले विरुवा उत्पादन, वृक्षारोपण लगायत वन सम्बर्द्धन सम्बन्धी विविध क्रियाकलाप गर्दै आएका छन् भने काठ उत्पादन तथा बिक्री वितरण गर्छन् ।
समितिले काठ दाउरा तथा वन पैदवारको उत्पादन एवं बिक्री गर्छ । त्यसबाट प्राप्त आम्दानीबाट कर्मचारीहरूलाई तलबभत्ता पाउँछन् । तर २०७९ सालको असारमा जारी भएको वन नियमावलीमा भएका केही प्रावधानका कारण समितिको काठ बिक्री गर्न नसकेको कर्मचारीहरूको गुनासो छ । नियमावलीमा आयोजनारपरियोजनाले उत्पादन गर्दै आएका विभिन्न प्रजातिको वन पैदावारको वल्लावल्लीहरुको वन रोयल्टी व्यवस्था नभएको कार्कीले बताए । ‘नियमावलीमा साल, मसला र कटुस मात्रैको रोयल्टी व्यवस्था छ । अन्य रुखको हकमा कुनै विषयमा छैन,’ उनले भने । यस्तै समितिमा विषय विज्ञ, अनुभवी र दक्ष नेतृत्व नहुादा समस्या भएको कार्कीले बताए । हाल समितिका कार्यकारी अध्यक्ष पद रिक्त छ । यस्तै परियोजना र आयोजनाका प्रमुखहरु पनि रिक्त छन् ।–00–


