काठमाण्डौं, ११ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरोधी अभियान निस्तेज बनाउन चाहनेले आफ्नो राजीनामा माग्न थालेको बताएका छन्।
महोत्तरीको बर्दिबासस्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाले गरेको शैक्षिक सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विरोधीहरुले माग्दैमा आफूले लुरुक्क परेर पद नछाड्ने बताए। नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी प्रकरण लगायतका अपराध र वेथितिविरुद्ध चलाएको अभियानलाई बीचमै तुहाउन खोज्नेले पद छाड्न दबाब दिइरहेको उनले बताए।
‘जनतालाई साथमा लिएर यतिबेला देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरिरहेका छौँ, त्यसका परिणाम आइरहेका छन्,’ श्रेष्ठले भने, ‘सरकारको कामले जनतामा आशा पैदा हुन थालेको छ। तर, अभियान तुहाउन चाहनेले मलाई पद छाड्न दबाब दिन थालेका छन्।’
कसैले दबाब दिँदैमा आफूले पद नछाड्ने दृढतासमेत उनले व्यक्त गरे। कसैले विरोध गर्दैमा भ्रष्टाचार, तस्करी र अपराधविरुद्धको अभियान नरोकिने उनले बताए। ‘मलाई पद छाड्न दबाब दिँदैमा सरकारको अभियान रोकिन्छ भन्ने आशा कसैले गरेको छ भने त्यो सम्भव छैन,’ उनले भने, ‘हामी अघि बढ्छौँ। भ्रष्ट, कमिशनखोर, तस्कर र अपराधीविरुद्ध अन्तिमसम्म लडिरहने छौँ।’ जसले भ्रष्टाचार, बेथिति, अपराध, तस्करीविरुद्ध र सुशासनको पक्षमा अभियान चलाउँछ उसले पद छाड्नुपर्यो भन्नेप्रति उनले आक्रोश व्यक्त गरे।
‘गृहमन्त्रीले पद छाडे भ्रष्टाचार, तस्करी र अपराधविरोधी अभियान योभन्दा अघि बढ्दैन। त्यसबाट तस्करी, भ्रष्टाचारी र अपराधीले उन्मुक्ति पाउँथे भन्ने कसैलाई लागेको भए त्यो भ्रमबाट मुक्त हुन म अपिल गर्छु,’ उनले भने, ‘मैले पद छाडे अहिलेको छानबिन रोकिन्थ्यो भन्ने कसैले सोचेका हुन सक्छन्। तर, त्यो दिन आउनेवाला छैन। कसैलाई सजिलो बनाउन पद छाड्नेवाला छैनौँ। अपराधविरुद्धको यो अभियान अन्तिम निष्कर्षमा पुर्याएरै छाड्ने छौँ।’
विकास र समृद्धिको अभियान अघि बढ्न नदिने भ्रष्टलाई खोजीखोजी कारबाही गर्नुपर्यो भनेर जनताले आवाज उठाइरहँदा गलत तत्वहरुले त्यसको विरोध गर्नु सामान्य भएको उनले बताए।
‘जनता भ्रष्टाचारी र अपराधिहरुलाई ठिक पार्नुपर्छ, कानुनको दायरामा ल्याउनु पर्छ, सुशासन कायम गर्नु पर्छ भनेर आवाज उठाइरहेका छन्। हामीलाई नागरिक समाजको पनि समर्थन छ,’ उनले भने, ‘तर भ्रष्ट र अपराधिहरुको संरक्षणमा मात्रै आफ्नो अस्तित्व रक्षा देख्ने निहीत स्वार्थ भएकाले आमजनताको समर्थन र सत्यलाई देख्न सकेका छैनन्।’
गृहमन्त्रालयले देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चानल गरेपछि कतिपयले निदाउन नसकेको भन्दै उनले व्यंग्य गरे।–00–
फाईल फोटो


