काठमाण्डौं, २७ असार । वानएक्सबेटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकारसहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक खनालले कलाकारसहित ८ जनालाई ५ हजार रुपैयाँका दरले धरौटीमा छाड्न आदेश दिएका हुन्। यस्तै वानएक्सबेटका मुख्य एजेन्ट भनिएका दिनेश खड्कालाई १० लाख र उनकी पत्नी अनिता धिताललाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन्।
कैलालीको लम्किचुहा नगरपालिका १० घर भई हाल काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी पत्नी २९ वर्षीय अनिता धितालविरूद्ध तीनवटा कसुरमा मुद्दा दायर गरिएको थियो।
युट्युबर र कलाकारहरुले नेपालमा गैरकानुनी एप्लिकेशन वान एक्स बेटको प्रचार गरेर रकम लिएको आरोप छ। उनीहरुले विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ ( ढ ) र दफा २५ को उपदफा ९१० बमोजिम कसुर गरेको आरोप छ।
पक्राउ परेकाध्ये रोल्पा नगरपालिका ६ घर भई हाल कीर्तिपुर बस्ने युट्युबर २४ वर्षीय जलन घर्तीमगर, उदयपुर घर भई हाल ललितपुरको महालक्ष्मीथान बस्ने युट्युबर २८ वर्षीय एलिश राई, मुगु घर भई हाल ललितपुरको टीकाथली बस्ने १९ वर्षीय गणेश देवकोटाविरुद्ध पनि मुद्दा चलाइएको छ।–00–


