काठमाडौं । खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्लो दुई महिनामा ५१ जना नेपालीले ज्यान गुमाएका छन् ।
यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउनमा ३२ र भदौमा १९ जना गरी ५१ जनाको मृत्यु भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामै ६२ नेपालीको मृत्यु भएको थियो । सो वर्षभरि ३१२ जनाको मृत्यु दूतावासमा दर्ता भएको थियो, जसअनुसार औसत मासिक मृत्यु संख्या २६ जना रहेको थियो ।
त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए ।
सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात र मुटुसम्बन्धी रोगलगायत कारणले यूएईमा नेपालीको मृत्यु हुने गरेको दूतावासले जनाएको छ ।


