माडी, २७ असार । माडी नगरपालिकाको बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम विहीबार(भोली) बिहान ११ बजेबाट सञ्चालन हुँदैछ ।
नगरपालिकाबाट चालू आर्थिक बर्ष २०७९/८० को अर्धबार्षिक अवधीमा भएगरेका काम, सेवा प्रवाह, विकास निर्माण एवं अन्य सार्वजनिक महत्वका बिषयहरुमा सुनुवाई हुनलागेको नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रवीण भण्डारीले जनाउनुभयो ।
माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना र स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको सहजिकरणमा बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा खुला सार्वजनिक सुनुवाई सञ्चालन हुन लागेको हो । बसन्तपुर बजारको खुला चौरमा आयोजना हुने तय भएको सो कार्यक्रम लगातारको बर्षाका कारण नजिकैको सभाहलमा सारिएको सुनुवाईका सहजकर्ता देव नारायण शाहले बताउनुभयो ।
कार्यक्रममा नगरका राजनैतिक दल, सरकारी तथा गैरसकारी संघसंस्था, शैक्षिक तथा सुरक्षा निकाय, व्यवसायिक संघ, टोल विकास समिति र अन्य सरोकारवाला तथा नगरबासीहरुलाई सहभागिताका लागि नगरप्रमुख ताराकुमारी काजी महतोको सार्वजनिक अनुरोध छ ।
माडी नगरपालिकाले चालू आर्थिक बर्षमै पहिलेपनि सार्वजनिक सुनुवाई सञ्चालन गरिसकेको छ भने माडीका सबै वडा कार्यालयहरुले समेत सुनुवाई सञ्चालन गरेका छन् । नगर कार्यपालिका, सबै वडाहरु र प्रस्तावित वडा समेतको सुनुवाई सञ्चालन गरेको माडी नगरपालिका देशकै एकमात्र स्थानीय तह हो ।–00–


