लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास नरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले आफू अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने विश्वास नरहेको बताए ।

‘म पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको हुँ, तर परिस्थितिवश मलाई प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलाग्यो । म तेस्रो पटक प्रधानमन्त्री हुँदा मलाई जनतालाई केही भन्नु छ, के गर्नु छ भनेर भनेको थिएँ, त्यही अनुसार गर्दै आएको हुँ,’ उनले भने, ‘मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन । तर जति समय हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने ठानेको छु । त्यही गर्दैछु ।’

 

प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको सम्बन्धमा आफू स्वयम् र अहिलेको सरकार गम्भीर रहेको बताए ।

‘मिटर ब्याजपीडितहरूको आन्दोलन लामो समयसम्म किन चल्यो रु भनेर सत्ता गठबन्धनमै मैले प्रश्न गरेको थिएँ । यो विषयमा म र सरकार गम्भीर छौं । अहिले प्रतिपक्ष दलहरूले पनि यति प्रतिबद्धता देखाइसकेपछि मिटरब्याज सम्बन्धी कानुन संसद्‍बाट पास हुन्छ भन्नेमा म ढुक्क भएको छु,’ उनले भने । मिटरब्याजको गम्भीर प्रकृतिको अवस्था बुझेरै सरकारले हतारमा अध्यादेशमार्फत् कानुन ल्याएर कारबाही अघि बढाएको पनि उनले बताए ।

यस क्रममा प्रधानमन्त्री दाहालले भारतीय सरदार प्रितम सिंहको विषयमा दिएको विवादित अभिव्यक्ति भावनामा आएर बाहिरिएको भन्दै आत्मालोचना गरेका थिए । तर आफू सार्वभौमसत्ताका लागि सधैँ प्रतिबद्ध रहेको बताएका थिए ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु