भरतपुर, १० असार । भरतपुर महानगरपालिकाको तेह्रौ अधिवेशन क्यान्सर अस्पतालकाे सभाहलमा सुरु भएको छ । महानगरपालिकाले सडक पूर्वाधारसँगै विद्युत् खपत बढाउन उज्यालो भरतपुरलाई प्राथमिकतामा राख्ने कार्यक्रम छ । सोही अनुरूप भरतपुर महानगरपालिकाले अबदेखि विद्युतीय सवारीसाधन मात्र खरिद गर्ने तयारी गरेको छ । ‘हरित ऊर्जाको खपत, पेट्रोलियम पदार्थको बचत गर्ने’ नीति अनुरूप विद्युतीय सवारीसाधनको प्रयोग बढाउन नीतिलाई जाेड दिएको छ ।
आइतबार हुन लागेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममार्फत महानगरपालिकाले यस्तो ल्याउँदै छ । विद्युतीय सवारीसाधनको सहज चार्जिङका लागि पाँच स्थानमा चार्जिङ स्टेसन राख्ने गरी नीति तथा कार्यक्रम ल्याउन लागेको महागनरपालिका स्रोत बताउँछ ।
हाल भरतपुर महानगरपालिकाको केन्द्रीय बस टर्मिनलमा नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ्ग स्टेसन सञ्चालनमा आइरहेको छ । आगामी वर्ष महानगरको वडा नम्बर १ स्थित रामनगरमा नेपालकै अत्याधुनिक चार्जिङ्ग स्टेशन निर्माण गर्ने महानगरको लक्ष्य छ । त्यसबाहेक गीतानगर, चनौली, नारायणगढ बसपार्क र महानगर परिसरमा समेत चार्जिङ स्टेसन निर्माण गर्ने योजनामा महानगरपालिकाको छ ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको समन्वय र सहकार्यमा महानगरभित्र विद्युतीय बससहित गुणस्तरीय र सुरक्षित सार्वजनिक यातायात सेवाको प्रारम्भ गर्ने योजना छ । ‘उज्यालो भरतपुर’ कार्यक्रमअन्तर्गत नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडक तथा बजार क्षेत्रहरूमा स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनी मास्ट बत्ती जडान र विस्तार कार्यलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिने अनुमान छ । भरतपुर महानगरपालिकाको विद्युत प्रणालीलाई व्यवस्थित गर्न नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा ३३ केभिए क्षमताको देवनगर सबस्टेसन सञ्चालनमा ल्याउने बताएको छ । वडा नम्बर २१ को पार्वतीपुर र वडा नम्बर २६ को ज्योतिनगरमा १३२ के.भी.ए. क्षमताको सबस्टेशन निर्माणका लागि आवश्यक समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिँदैछ ।
पूर्वाधार विकासलाई व्यवस्थित गर्न ‘परियोजना बैंक’ :
पूर्वाधार विकासको कार्यलाई व्यवस्थित गर्न सञ्चालन गरिने सम्भावित ठूला आयोजनाहरूको ‘परियोजना बैंक’ तयार गर्ने रणनीति महानगरपालिकाले बनाएको बुझिएको छ । नीति तथा कार्यक्रममार्फत पारित गर्ने गरी महानगरपालिका प्रमुख रेनु दाहालले यस्तो योजना ल्याउँदैछिन् ।
संघीय सरकारका सम्बन्धित निकायहरूको सहयोग तथा समन्वयमा युटिलिटी कोरिडरको अवधारणाअनुसार महानगरपालिका क्षेत्रभित्रका विद्युत, टेलिफोन, केबुल लाइन र इन्टरनेटका तारलाई चरणबद्ध रूपमा भूमिगत गर्ने कार्यलाई निरन्तरता दिइने लक्ष्य राखिँदैछ । सडक अधिकार क्षेत्र १६ मिटर भन्दा बढी भएका सडक निर्माण गर्दा हरियाली, फुटपाथ र साइकल लेनसहितको सडक निर्माण गर्ने कार्यलाई निरन्तरता राख्ने तयारीमा महानगरपालिकाको छ ।
सहरी संरचनालाई विश्वव्यापी मापदण्डअनुरूपको बनाउन अपाङ्गतामैत्री र वातावरणमैत्री भौतिक संरचना निर्माण बनाउने गरी तयारी थालिएको छ । नारायणी नदीकिनारमा मनोरञ्जन पार्क, केरूङ्गा घोल, पुङ्गी खोला लगायतका खोलाहरूलाई महानगरको सतहको आकासे पानी निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यकरण गर्ने लक्ष्य छ ।
महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने विकास आयोजनाहरूको जनसहभागितासम्बन्धी नीतिमा एकरूपता कायम गरिने बताइएको छ । विद्यालय भवन, कल्भर्ट, सिँचाइ, खानेपानी, सामुदायिक भवन, सतह ढल, सडक ढलान, ग्राभेल लगायतका योजनाहरूमा कम्तीमा १० प्रतिशत जनसहभागिता अनिवार्य गर्ने तयारीमा महानगरपालिकाको छ ।
ल्याण्ड फिल साइट बनाउँदै :
भरतपुर महानगरपालिकालाई सबैभन्दा समस्या फोहोर व्यवस्थापन हो । अहिले नारायणी किनारमा लगेर फालिँदै आएको छ । त्यसलाई व्यवस्थापन गर्ने गरी महानगरपालिकाले भरतपुर महानगरपालिका वडा नम्बर ११ मा ल्याण्डफिल साइटको बनाउने तयारी गरेको छ ।
नीति तथा कार्यक्रममा समावेश गरेर नै आर्थिक वर्षदेखि काम सुरु गर्ने तयारी गरिँदै छ । आगामी आर्थिक वर्षमा नै डिपिआर र इआइए निर्माण गरी काम सुरु गर्ने योजना छ। अटोल्याण्ड निर्माणका लागि वडा नम्बर ३को प्रस्तावित क्षेत्रको डिपीआर र ईआइए प्रतिवेदनका आधारमा निजी क्षेत्रको सहकार्यमा कार्यान्वयन प्रकृया अघि बढाउने बताइएको छ ।
निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउने महानगरपालिकाले तयारी गरेको छ । नीति तथा कार्यक्रममा समावेश गरेर क्रिकेट रंगशाला संघ र प्रदेश सरकारसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाउने तयारी गरिएको हो । यस्तै रसंघ र प्रदेश सरकारसँगकोर सहकार्यमा भरतपुर महानगरपालिका १५ मा संघीय शिक्षक अस्पताल र १४ मा प्रादेशिक आयुर्वेद अस्पतालको निर्माण कार्य थालनी गर्ने बताइएको छ ।
विद्युतीय नक्सा पास :
महानगरपालिकाले सुरु गरेको विद्युतीय नक्सापास प्रक्रियालाई पूर्ण डिजिटाइजेसन गर्ने तयारीमा छ। पुराना नक्सा पाससम्बन्धी कागजातहरूको पनि डिजिटाइजेसन गर्ने कार्यलाई निरन्तरता दिने गरी योजना बनाउँदै छ । महानगरपालिकाभित्र भवन निर्माणमा संलग्न निर्माणकर्मी, प्राविधिक र घरधनीहरूलाई समयानुकुल भूकम्प प्रतिरोधी भवन निर्माण र अन्य प्राविधिक तालिम प्रदान गर्ने नीति ल्याउन लागेको छ ।
यस्तै, महागनरपालिकाले ‘विषादीमुक्त भरतपुर’ नीतिलाई प्राथमिकता दिने तयारी गरेको छ। यसका लागि हालको विषादी प्रयोगको अवस्थालाई न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गरिने तयारी छ। आई पी एम कृषक पाठशालालाई निरन्तरता नीति तथा कार्यक्रममा समाबेश गरिँदैछ। विषादी परीक्षण प्रयोगशालालाई संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा थप सुदृढीकरण एवं व्यवस्थित गर्ने लक्ष्य छ । तर, चितवनमा तरकारीमा अध्याधिक बिषादीको प्रयोग हुँदै आएको छ। यसलाई रोक्न महानगरपालिकालाई चुनौती नै छ ।–0

