रत्ननगर, ८ असार । रत्ननगर नगरपालिकामा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रमको औपचारिक शुभारम्भ भएको छ । रत्ननगर नगरकार्यपालिकाको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उद्यमी बन्न चाहनेमध्येबाट पहिलो चरणमा छनौट गरिएका ३८ जनालाई जनही तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख प्रलाद सापकोटाले नगरवासी जोसुकैले पनि गरिखान पाउनुपर्छ भन्ने उद्देश्यका साथ उद्यमी बन्न चाहनेमध्येबाट आर्थिक अवस्था कमजोर भएकाहरुलाई पहिलो प्राथमिकता दिँदै उद्यमशीलता प्रवर्द्धन गरिएको बताए । नगरप्रमुख सापकोटाले जुन उद्देश्यका लागि रकम प्राप्त गरेको हो त्यसैमा लगाउन अनुरोध गर्दै उद्यमीहरुले इमानदारिताका साथ व्यवसाय सञ्चालन गरे थप लगानी गर्ने वातावरण मिलाउन आफू तयार रहेको बताए ।
उद्यमी बन्न धेरै जनाको आवेदन परेको बताउँदै उनले यस वर्ष वञ्चित भएकालाई अर्को आर्थिक वर्षमा जोड्दै लैजाने जानकारी दिए । ‘हामी उद्यमीलाई राजनीतिक आँखाले हेर्दैनौँ, प्राथमिकताका आधारमा छनौट गर्छौं’, उनले भने, ‘एकल महिला, सीमान्तकृत, अल्पसंख्यक र दलित महिलालाई पहिलो ग्राह्यता दिएका छौँ ।’
कार्यक्रममा नेपाल बैंक लिमिटेड टाँडी शाखाका प्रमुख सरोज खनालले उद्यमशीलता कार्यक्रममा जोडिएका उद्यमीले उदाहरणीय काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताए । बैंकले नगरपालिकासँग समन्वय गरी आवश्यक छनौट प्रक्रिया पूरा गरेपछि तीन वर्षका लागि तीन लाख रुपैयाँ ऋण लगानी गर्ने र सो ऋणको व्याज भने नगरपालिकाले बुझाउने सहमति गरिएको उनले जानकारी दिए । उद्यमीले प्राप्त गरेको ऋणको हरेक तीन महिनामा २५ हजार रुपैयाँका दरले किस्ता घटाउँदै तीन वर्षभित्र तिरिसक्नुपर्ने उनले बताए । यसरी निर्धारित समयमै किस्ता बुझाउँदै नमुना उद्यमी बन्ने ऋणीलाई आवश्यकताअनुसार ऋण रकम बढाउन पनि सकिने उनको भनाइ थियो ।
रत्ननगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माले उद्यमशीलताबिना विकास हुन नसक्ने बताउँदै उद्यमीले राम्रो गर्न सकेमात्र नगरप्रमुख उद्यमशीलता प्रवद्र्धन कार्यक्रम थप विस्तार हुने बताए । वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विश्वास श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा आर्थिक विकास समितिका संयोजक एवं नगरप्रमुख उद्यमशीलता प्रवद्र्धन कार्यक्रमका सदस्य सोहेन्द्रराज खरेलले नगरपालिकाले दिएको सुविधाको अधिकतम सदुपयोग गर्न उद्यमीहरुलाई आग्रह गरे ।
कार्यक्रममा उद्यमशीलता कार्यक्रममा छनौट भएका ३८ जना उद्यमीलाई नेपाल बैंक लिमिटेड टाँडी शाखाका कर्जा प्रमुख दीपेन्द्र अधिकारीले वित्तीय व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।–00–


