काठमाडौं, ४ असार । आज समाजवादी मोर्चाको घोषणा हुँदै छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा हुन लागेको हो ।
आज राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममार्फत औपचारिक घोषणा हुनेछ ।
सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका थिए ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा माओवादी, जसपा नेपाल, नेकपा एस र नेकपा समाजवादी मोर्चा, नेपालको ऐतिहासिक घोषणा सभामा उपस्थित हुन आबद्ध पार्टीहरूले अनुरोधसमेत गरेका छन् ।
मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता आइतबार नै तय गरेको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकता सहितको १५ बुँदे प्रतिबद्धता आज तय भएको छ, भोलिको कार्यक्रममा घोषणा गरिने छ ।’
दलहरूले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने सहमति गरेका बताइएको छ ।
यसै गरी, मोर्चामा सहभागी हुने सदस्य दलका अध्यक्ष सहितको एउटा संयोजन समिति हुने र त्यसले आवश्यकताअनुसार उपसमितिहरू बनाएर अन्य दलहरूलाई पनि सहभागी गराउने निर्णय पनि भएको छ ।–00–

