कालिकाको नीति तथा कार्यक्रमः शक्तिखोर र रन्तेसमा वडास्तरीय बहुउद्देश्यीय बसपार्क, घनाबस्तीभएका ठाउँमा झोलुगें पुल बनाउने

कालिका, ३ असार । कालिका नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा सुन्दर शहर, सुरक्षित पूर्वाधार र समुदायको दिगोपना कायमगर्नेगरी स्थानीय निर्माण सामग्रीको अधिकतम् प्रयोग गरी भूकम्प प्रतिरोधी, बालमैत्री, लैङगिकमैत्री, वातावरणमैत्री आवास निर्माण तथा सहरी पूर्वाधार निर्माणगर्ने नीति लिएको छ ।

नगरपालिकाको कार्यालयदेखि सबै वडा कार्यालयसम्म पुग्न पक्की सडक निर्माणगर्न प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । नगर यातायात गुरुयोजना बमोजिम सडक सञ्जालको विस्तार, स्तरोन्नती, मर्म सम्भार गरिने भनिएको छ । यस्तै व्यवस्थित नगर बसपार्क बनाउन सम्भाव्यता अध्ययन गरिनेछ । नगरका मुख्य बजारक्षेत्रमा आटोपार्क, शक्तिखोर र रन्तेसमा वडास्तरीय बहुउद्देश्यीय बसपार्क निर्माण गरिने उल्लेख छ ।

 

खानेपानी पाइपलाईन विस्तार, सिंचाइ कुलो विस्तारगर्दा नगरक्षेत्रका सडक तथा अन्य पूर्वाधारहरु भत्काउनु काट्नुपर्ने भएमा पूर्व अनुमति लिई सम्बन्धीत निकायबाटै मर्मतगर्ने जिम्मेवारी लिन अनिवार्य नीति तथा कार्यक्रममा भनिएको छ ।

नगरक्षेत्रमा भद्रगोल अवस्थामा रहेको विद्युत, टेलिफोन, इन्टरनेट सेवा संजाल लगायतका सडक पोलहरुमा रहेका तारहरु सम्बन्धीत सेवा प्रदायकको समन्वयमा व्यवस्थित गरिने छ ।
पूर्वाधार विकास अन्तर्गत सिटीहल, ब्यापारिक तथा बहुउद्देश्यीय भवनहरु निर्माणमा संघीय तथा प्रदेश सरकारसँग समन्वय गरिने छ । यस्तै उपभोक्ता संस्था दर्ता तथा नवीकरणको व्यवस्थालाई अनिवार्य गरेर उपभोक्ता समितिबाट गरिने कामलाई प्रभावकारी बनाइनेछ ।

४० प्रतिशतभन्दाबढी ठूला मेसिन उपकरण प्रयोग हुने काममा अनिवार्य रुपमा ठेक्का बन्दोबस्त गरिनेछ । चौकीडाँडा र मझाबाँङ्ग क्षेत्रको सहज पहुँचका लागि सिद्धि दोभानमा पक्की मोटरबल पुल निर्माण गरिनेछ । पुल नभएका तर घना बस्तीभएका स्थानहरुमा संघीय सरकारसँग सहकार्य गरेर झोलुगेंपुल निर्माण गरिने कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।–00–

Share:

सम्बन्धित समाचारहरु