संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल दाङ जाँदै

दाङ, ३१ जेठ । नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङ जाँदैछन् ।

बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने पाँचौं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड सहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई सहितको टोली दाङ जान लागेको हो । विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री दाहालको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा आज बिहान साढे ११ बजे दीक्षान्त समारोहको कार्यक्रम तय गरिएको छ ।

 

१२ वर्षपछि हुन लागेको दीक्षान्त समारोहमा ५७५ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको समारोह मूल समिति संयोजक एवं विश्वविद्यालयका उपकुलपति प्रा‍.डा. यादवप्रकाश लामिछानेले जानकारी दिए । समारोहमा ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गरिने उनले बताए । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दीक्षान्त मन्तव्य दिनेछन् ।

विश्वविद्यालयमा २०६८ साल यतादेखि दीक्षान्त समारोह हुनसकेको थिएन । शैक्षिक सत्र २०६७ देखि २०७७ सम्म विद्यावारिधि, आचार्य, शास्त्री, आयुर्वेद स्नातक, एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण चार हजार ७७३ विद्यार्थीमध्ये दीक्षित हुनका लागि आवेदन दिएका ५७५ जनाले दीक्षित हुने परीक्षा दिएका थिए ।–00–

फाइल फोटो

Share:

सम्बन्धित समाचारहरु