रत्ननगर, १८ जेठ । एनिमल नेपालले आम समुदायलाई सु–सूचित गर्न पशु कल्याण सम्बन्धी अन्तक्रिया कार्यक्रम गर्दै आइरहेको छ ।
पशु कल्याणको क्षेत्रमा बिगत १४ बर्ष देखि काम गरि रहेको एनिमल नेपाल चितवनको आयोजनामा बिहीवार भरतपुरमा पशु पक्षी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पशु कल्याणको बिषयमा सरोकारवालाको ध्यान जान नसक्दा सितैमा पुशुहरुले सास्ती खेप्नुपरेको आयोजकको गुनासो रहेको छ । एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले एनिमल नेपालले बिगत १४ बर्ष देखि पशु कल्याणका बारेमा काम गर्दै आएको बताईन् । पशु कल्याणका बारेमा काम गर्दै आएको एनिमल नेपालले “पशुपक्षीहरूका लागि आहारको राम्रो व्यवस्था हुनुपर्छ, राम्रो वातावरणमा बस्न पाउनुपर्छ, उसको स्वास्थ्यको ख्याल गर्नुपर्छ, जनावरहरूको व्यवहार अनुसार स्वतन्त्रत भएर बाँच्न दिनुपर्छ, कुनै पनि मानसिक तनाव दिनुहुँदैन” भन्ने कुराहरूको सुनिश्चित हुनुपर्छ भन्दै आएको उनले बताईन् ।
मानिसहरूले पशुपक्षीलाई दर्दनाक तरिकाले पाल्ने, मार्ने गरि थुनेर राख्ने गरेको पाईएको उनको भनाईछ । पशुपक्षीहरूलाई पुच्छरमा बाधेर, झुण्ड्याएर, कोचाकोच गरी दर्दनाक तरिकाले एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा पशुहरुले खेप्नु पर्ने सास्ती बारेगुनासो गर्दै उनले प्राणीप्रति सद्भावको भावना हुनुपर्ने बताइन् ।
मान्छे जस्तै पशुपक्षी पनि एउटा जीवित प्राणी भएकाले उनीहरूको पनि गाँस, बास, स्वास्थ्य लगायतमा ध्यान दिनुपर्नेमा एनिमल नेपालले बिशेष जोड दिएको छ ।
एनिमल नेपाल चितवनकी वकालत संयोजक सुमेधा गौतमले पोल्ट्रि स्टोरमा देखिएको समस्या, पिंजडामा पालिएको कुखुराहरुको अवस्था, पिंजडा मुक्त खोरमा कुखुरापालन किन ? भन्ने विषयमा प्रशिक्षण दिएकी थिईन् ।
मानिसले खाने अण्डा उतपादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खान योग्य अण्डा उत्पादन नहुने बताउँदै कुखुरालाई यातना सास्ती दिएर जबरजस्ती उत्पादन गरिएको अण्डा मानिसको लागि भिटामिन योग्य नहुने भएको जानकारी गराईन् ।
पशु कल्याणका बारेमा काम गर्दै आएको एनिमल नेपालले पशुपन्छीहरुका लागि आहाराको राम्रो व्यवस्था, राम्रो वातावरणमा बस्न पाउने, उसको स्वास्थ्यको ख्याल गर्नुपर्ने, पशुपन्छीको व्यवहार अनुसार स्वतन्त्र भएर बाँच्न पाउँनु पर्ने र मानसिक तनाव दिन नहुने गौतमले बताइन् ।
कार्यक्रममा एनिमल नेपाल सुरक्षा समिति चितवनका सदस्य बसन्त राना मगरले पूर्वी चितवनको रत्ननगरका अधिकाशं मासु पसलहरु फोहोर रहेको बताए ।
उनले भने, “मासु पसलका भित्ताहरुमा जताततै रगतका छिटाहरु देखिन्छन्, व्यवस्थित तरिकाले मासुहरु बिक्रि बितरण पाईदैन ।”
रागाँ र भैंसी तथा कुखुरालाई एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा दर्दनाक तरिकाले लैजाने गरेको उनले बताए । पशुको स्वास्थ्य राम्रो भएमात्र मानवको स्वास्थ्य र वातावरण स्वच्छ रहने उनको भनाइ छ ।
सन् २००९ देखि एनिमल नेपालले नेपालमा पशुपन्छीलाई दुःख, पीडा र मानव सिर्जित क्रुुरताबाट छुट्कारा दिने लक्ष्यका साथ काम गर्दै आइरहेको छ । अहिले नेपालमा पशुपन्छीको उद्धार, विभिन्न अनुसन्धान, जनचेतना अभिवृद्धि र यस विषयमा सरकारसँग पनि ऐन् कानुन बनाउन माग गर्दै आएको छ ।
मानिसले पशुको हेरचाह गर्छ । निरन्तर सम्पर्कमा हुन्छ । पशुपालक किसानहरुको दैनिकी नै पशुको आसपास रहेर बित्छ । जो मानिस पशुको नजिक हुन्छ ऊ अन्य मानिसको पनि नजिक हुन्छ । त्यसो हुनाले मानवको स्वास्थ्यको लागि पशु स्वास्थ्यमा पनि ध्यान दिन अत्यन्त जरुरी हुन्छ ।
विश्वमा पशु स्वास्थ्य सम्बन्धि ऐन, नियम, कानुनहरु धेरै बनेका छन् । केही देशहरुले त्यसको यथोचित कार्यन्वयन पनि गर्न सफल भएका छन् । नेपालमा पनि पशु स्वास्थ्य र पशु कल्याणलाई ध्यानमा राखेर विभिन्न एन, कानुनहरु बनेका छन् । पशु स्वास्थ्य तथा पशु सेवा एन २०५५, सम्बन्धित नियमावली, ढुवानी मापदण्ड, पशु कल्याण निर्देशिका २०७३ र मुलुकी ऐन अपराध संहिता २०७४ ले पशुपंछीको पालना, हेरचाह, ढुवानी तथा कल्याणका सम्बन्धमा गरेको व्यवस्थालाई अक्षरसः पालना गर्ने हो भने नेपालमा पशु कल्याणको अवस्थामा सुधार आउनुको साथै पशु स्वास्थ्यमा हुने समस्याहरु कम भएर जाने निश्चित छ । तसर्थ आम जनसमुदाय, उपभोक्ता, केन्द्रिय सरकार, स्थानीय सरकार, व्यवसायी, भेटेरेनरी तथा नीति नियमक निकायहरु क्रियाशील हुन् जरुरी छ ।
कार्यक्रममा चितवनका भरतपुर महानगर, रत्ननगर, खैरहनी र राप्ती गरी चार स्थानीय तहमा रहेका पशुशाखा प्रमुख, पोल्ट्रि सप्लायर्स, उपभोक्ता अधिकार संरक्षण मञ्च, अण्डा उत्पादक संघ, एनिमल राइट्र्स क्लव, कुखुरा व्यवसायी मञ्च, घरेलु तथा साना उद्योग, एनिमल सेभ चितवन, खाद्य प्रविधि तथा गुण नियन्त्रण, एनिमल नेपाल सुरक्षा समिति चितवन लगाएतको सहभागिता थियो ।