काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन् ।
भ्रमणमा ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित झण्डै १२० जना रहनेछन् । भारतले प्रधानमन्त्रीको भ्रमण टोलीका लागि ४७ जनाको कोटा दिएको थियो । भारत भ्रमणमा जानेमध्ये २५ जना ‘उच्चस्तरीय’ को नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । उनीहरूमध्ये प्रधानमन्त्रीको सचिवालयका मात्रै १० जना रहेका छन् ।
स्रोतका अनुसार ५० जनाको आसपासमा व्यवसायी र १३ जना सञ्चारकर्मीहरू निजी खर्चमा जानेछन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री दाहालले आजै उनीसँग भेटवार्ता गर्नेछन् । भारतलाई बिद्युत् विक्री तथा बङ्गलादेशलाई बिद्युत् बिक्रीका लागि बाटो खुल्ला गरी दिनेलगायतको विषयमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री एनपी साउदका अनुसार भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउन प्रयत्न रहने छ। ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने उनको भनाइ छ । भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा समेत टुंगोमा पुग्न प्रयास गर्ने मन्त्री साउदले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले पनि भ्रमणमा सके राम्रो गर्ने नसके कुनै नराम्रो काम नहुने बताउँदै आएका छन् ।
यतिबेला भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमिका नाम राखिएको विषयमा पनि कुरा उठाउन भ्रमण टोलीलाई दबाब छ ।–00–


