रत्ननगर, ६ जेठ । रत्ननगर नगरपालिकाले ‘चौडा सडक पूर्वाधार, सरसफाइ र वातावरणमैत्री रत्ननगर’ अभियानअन्तर्गत प्रचलित मापदण्डको पालना नगरी निर्माण भएका भवन, संरचना, सीमा पर्खाल र अस्थायी टहराहरु हटाउन ३५ दिने सूचना जारी गरेको छ ।
नगरक्षेत्रभित्र कुनै पनि भवन तथा संरचना निर्माण गर्दा प्रचलित मापदण्डबमोजिम नक्सा स्वीकृति लिएर मात्र गर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेकोमा कतिपय भवन, संरचना, सीमा पर्खाल र अस्थायी टहराहरु स्वीकृति नलिई निर्माण गरिएकाले सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए ।
उनका अनुसार सूचना जारी भएको मितिले ३५ दिनभित्र मापदण्डको पालना नगरी निर्माण भएका भवन, संरचना, सीमा पर्खाल र अस्थायी टहराहरु नहटाइए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नगरपालिका आफैँले हटाउने र हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्ति÷संस्थाबाट असुल उपर गरिने जनाइएको छ ।
नगरपालिकाले जारी गरेको सूचनाअन्तर्गत सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र अन्य संरचनाहरु, सडकको क्षेत्राधिकार मिचेर बनाइएका टहरा, कम्पाउन्ड वाल र नक्सापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी पसल, गोदाम, रेस्टुरेन्टजस्ता अन्य प्रयोजनमा प्रयोग भएका बेसमेन्टहरु खाली गराइने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
यस्तै, सडकबाट फुटपाथमा सवारीसाधन उक्लिन बाटो अवरूद्ध हुनेगरी ढलाइ गरेर बनाइएका स्थायी ¥याम्पहरु हटाउनसमेत नगरपालिकाले सूचना जारी गरेको छ ।
यसैगरी, नगरक्षेत्रभित्र रहेका विशेषगरी राजमार्गको दायाँबायाँ रत्ननगर–२ स्थित हाइस्कुलरोड तथा सिनेमारोड, रत्ननगर–१० स्थित बकुलहर–बैरिया सडकखण्ड, सौराहाचोकदेखि सौराहासम्मको निकुञ्जमार्गमा पर्ने सडकको दायाँबायाँका टहरा, कम्पाउन्ड वाल र अन्य संरचनाहरु, भवनको अगाडि निर्माण भएका ट्रस्ट, जस्ताको अस्थायी पाली, अस्थायी टहरालगायतका संरचना हटाउन नगरपालिकाले चैत १९ गते नै सार्वजनिक सूचना जारी गरेको थियो ।
नगरपालिकाले बढ्दो सहरीकरण र सडकयात्रु एवं सवारीको चापलाई मध्यनजर गर्दै सडक आवागमनलाई सहज र व्यवस्थित गर्न सूचना जारी गरिएकाले सो कार्य कार्यान्वयन गर्न नगरवासीलाई आग्रह गरिएको छ ।
नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपश्चात् फुटपाथ खाली गर्नुका साथै पार्किङको व्यवस्थापनलाई सहज बनाइएको नगरप्रमुख प्रल्हाद सापकोटाले बताए । नगरपालिकाले नगरप्रहरी र कर्मचारी परिचालन गरी भित्री सडकमा दायाँबायाँ आलोपालो पार्किङको व्यवस्थापन, फुटपाथ व्यवस्थापन र फोहोर फाल्नेलाई ठाउँका ठाउँ कारबाहीको व्यवस्था गरी सफा र सुन्दर पर्यटकीय नगरको नारालाई सार्थक तुल्याइएको नगरप्रमुख सापकोटाको भनाइ छ । पत्रपत्रिकावाट ः यो समाचार चितवन पोष्टले प्रकाशित गरेको छ । –00—


