पोल्ट्री व्यवसायी कँडेल मृत्यु प्रकरणः थप अनुसन्धानका लागि अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट पक्राउ

चितवन, २२ वैशाख। चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ का ३६ वर्षीय रावललाई बिहीबार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ बाट प्रहरीले पक्राउ गरेको हो । कतिपय हिसाब नै लुकाएर त कतिपय कँडेलका कमजोरीहरु प्रदीप रुङ्गटालाई भनेर उनीहरुबीच तनाव ल्याउने काम गरेको आरोप रावलमाथि छ ।

 

कँडेलका व्यापार साझेदार प्रदीप रुङ्गटा र चार्टर्ड अकाउन्टेन्ट रावलविरुद्ध कँडेलका परिवारका सदस्यले प्रहरीमा किटानी जाहेरी दिएका थिए । रुङ्गटा भने फरार छन् । रुङ्गटाको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ । नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष कँडेल मंगलबार साँझ नारायणगढस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा भेटिएको सुसाइड नोटमा रुङ्गटा र चार्टर्ड अकाउन्टेन्ट रावलले मानसिक पीडा दिएको उल्लेख थियो । सोही आधारमा परिवारका सदस्यले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

 

अनमोल फिड्सको ८५ प्रतिशत शेयर कँडेलले रुङ्गटालाई बेचेका थिए । रुङ्गटाले दिएको मानसिक तनाव थेग्न नसकेपछि कँडेलले आत्महत्या गरेको परिवारका सदस्यहरुको भनाइ छ । यसैबीच फरार रुङ्गटालाई पक्रेर कारबाही गर्न माग गर्दै चितवनका पोल्ट्री व्यवसायीहरुले चितवनका प्रदर्शनसमेत गरेका छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु