भरतपुर मेयरकप – वाग्मती प्रदेश अन्डर १६ क्रिकेट प्रतियोगितामा काठमाडौं र ललितपुरको विजयी सुरुवात

  • राकेश तिमल्सिना
    चितवन, ४ बैशाख । भरतपुरमा आजदेखि सुरु भएको भरतपुर मेयरकप वाग्मती प्रदेश अन्डर १६ क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं र ललितपुरले विजयी सुरुआत गरेका छन् ।

पहिलो खेलमा काठमाडौंले भक्तपुरलाई ३९ रन र ललितपुरले नुवाकोटलाई ९६ रनको अन्तरमा हराउदै विजयी सुरुआत गरेका हुन् । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले १ सय ७७ रन बनायो । निर्धारित २५ ओभरमा ४ विकेट गुमाउदै काठमाडौंले १ सय ७७ रनको योगफल तयार पारेको थियो । काठमाडौंका बुद्धिमान विष्टले अविजित ५४ बलमा ५४ रन बनाए । यस्तै ४४ बल खेलेका ओपनर सार्थक धितालले ४०रन जोड्दा सुबिन थापाले ३६ र निश्चल श्रेष्ठले २५ रन जोडे ।

बलिङमा भक्तपुरका जेशन अधिकारी, संयम नेपाल र आकाश शाहले समान १ विकेट लिए । १ सय ७८ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ थालेको भक्तपुरले निर्धारित २५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ३८ रनमात्र बनाउन सक्यो । भक्तपुरका लागि रोहित शर्माले सर्वाधिक ५२ बल खेल्दै ५४ रन बनाए । उनले ५४ रनको व्यक्तिगत स्कोरमा ८ छक्का समेत प्रहार गरेका थिए ।

यस्तै जेसन अधिकारीले १९, आकाश शाहले १७ र विवेक यादवले १३ रन बनाउनुबाहेक भक्तपुरका अन्य ब्याटर क्रिजमा टिक्न सकेनन् । बलिङमा काठमाडौंका सार्थक धितालले २ तथा प्रतिक पण्डित, प्रसिद्ध पौडेल र महेश देउवाले समान विकेट हात पारे । ब्याट र बल दुबैमा अलराउण्ड प्रदर्शन गरेका सार्थक धिताल खेलको प्लेयर अफ द म्याच घोषित भए । यसैगरी आजको दोश्रो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुरले गतिलो सुरुआत गर्दै ५ विकेट गुमाएर १ सय ६८ रन बनायो । ललितपुरका जोय थापाले सर्वाधिक अविजित ५६ रन बनाए भने संगम सेढाइ १९ रन बनाउदै अविजित रहे ।

४८ रन जोड्दा आठौं ओभरको अन्तिम बलमा ललितपुरले पहिलो विकेट गुमायो । उस्का लागि ओपनिङमा आएका विवेक भण्डारी २६ बलमा २४ रन बनाउदा सुशिल साउदको बलमा बोल्ड भए । १२ औं ओभरको दोश्रो बलमा ६७ रन जोड्दा ललितपुरले दोश्रो विकेट गुमायो । मध्यक्रममा आएका दिपेश शाह व्यक्तिगत ९ रन बनाउदा सुशिल साउदकै बलमा क्लिन बोल्ड भए । १६ औं ओभरको दोश्रो बलमा ९३ रन बनाउदा ललितपुरका हिमाल बोहरा तेश्रो विकेटको रुपमा आउट भए । उनी ५ रन जोड्दा अजर आलमको बलमा एलबीडब्लु धरापमा परे । २१ औं ओभरको अन्तिम बलमा १ सय ३३ रन बनाउदा ललितपुरले चौथो विकेटको रुपमा रामसेवक यादवलाई गुमायो । १३ बलमा २९ रन बनाउदै तुफानी ब्याटिङ गरेका यादव रोसिस सुनारको बलमा एलबीडब्लु धरापमा परे ।
२३ औं ओभरको पहिलो बलमा १ सय ३८ रन जोड्दा पाचौं विकेटको रुपमा सुनिल चौधरी पेभिलियन फर्किए ।

५ ओभर बलिङ गर्दै नुवाकोटका शुसिल साउदले २२ रन खर्चिएर २ विकेट लिए । यस्तै रोसिस सुनारले २ ओभर बलिङ गर्दै १२ रन खर्चिएर २ विकेट निकाले । ४ ओभर बलिङ गरेका अजर आलमले ३७ रन खर्चदै १ विकेट हात पारे । १ सय ६९ रनको विजय लक्ष्य पछ्याएको नुवाकोटले १८ औं ओभरको तेश्रो बलमा सबै विकेट गुमाएर ७२ रनमात्र बनाउन सक्यो । नुवाकोटका सुशिल साउदले सर्वाधिक २४ रन बनाए । यस्तै रोशन विश्वकर्माले १३ र आशिष गुप्ताले १३ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नुवाकोटको पारी ध्वस्त पार्नेक्रममा ललितपुरका अर्थव पौडेलले एक्लैले ६ विकेट लिए । ५ ओभर बलिङ गरेका उनले १५ रन खर्चिदै किफायती बलिङ गरे । कमल शाहीले ३ ओभर बलिङ गर्दै २० खर्चदै १ विकेट लिए । २ दशमलव ३ ओभर बलिङ गरेका निश्चल क्षेत्रीले १२ खर्चिएर १ विकेट लिए । प्रतियोगिता अन्तर्गत भोलि ९मंगलबार० पहिलो खेलमा मकवानपुर र भक्तपुर आमनेसामने हुनेछन् । खेल बिहान ८ बजेबाट सुरु हुनेछ । यस्तै दोश्रो खेल नुवाकोट र चितवनबिच हुनेछ । खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
भरतपुर महानगरपालिका र वाग्मती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भैरहेको खेल बैशाख ७ गतेसम्म संचालन हुनेछ ।–00–

Share:

सम्बन्धित समाचारहरु