चितवन,४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनका कार्यकर्तालाई इमानदारीता देखाउन आग्रह गरेका छन् । कालिका नगरपालिकाको क्लब चोकमा आज आयोजना गरिएको उप चुनावी सभालाई संवोधन गर्दै महामन्त्री थापाले यो पटक बेइमानी गरे त्यसको हिसाब किताब हुने चेतावनी दिए ।
अघिल्लो चुनावमा जस्तै यो पटक चितवन क्षेत्र न.. २ का मतदातालाई गल्ती नगर्न उनले आग्रह गरे ।

यसअघि कांग्रेस कार्यकर्ताले पनि रवि लामिछानेलाई मतदान गरेको तर्फ संकेत गर्दै महामन्त्री थापाले पाँच महिनाको अवधिमा सच्चिने मौका आएको उल्लेख गरे। ‘गएको ५ महिनालाई राम्रोसँग हेर्नुभएको छ। तपाईंले अब मान्छे चिन्नुभएको छ। तपाईँहरूले हिजो के गर्नुभयो, के कारणले गर्दा गर्नुभयो, किन गर्नुभयो भन्ने सबै कुरालाई बिर्सिएर म नेपाली कांग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु।’ थापाले भने, ‘पार्टीसँग, नेताहरूसँग तमाम असन्तुष्टि होलान्। यथोचित समयमा बसेर छलफल गरौंला तर अहिले पार्टी चुनावमा होमिएको बेला तलमाथि गर्ने छुट छैन।’
उनले कसैले मतदान गर्न नसक्ने भए स्पष्ट भन्न आग्रह गर्दै बाहिर बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्न चेतावनी दिए। ‘एक जना पनि कांग्रेसको साथीले दायाँबायाँ तलमाथि गर्नुभयो भने मैले सधैं भन्दै आएको छु । म भगवानमा विश्वास गर्ने मान्छे हुँ । मनमा जसको हरि छ,अरूले नदेखे पनि हरिले देखेको हुन्छ।’ थापाले भने, ‘बाहिर बाहिर रुख रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन् भन्ने ठान्नुपर्छ।’
उनले आफूहरू पाँच वर्ष खेर जान दिनुहुँदैन भन्ने पक्षमा रहेको भन्दै आफ्नै सरकारलाई पनि प्रश्न उठाइने बताए। वैशाख १० गते उपचुनाव हुने चितवन २ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार छन्। सभामा भरतपुर महानगरकी मेयर समेत रहेकी माओवादी नेतृ रेनु दाहाल लगायत काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो । –00–

