हात्तीको सूँड काटेको घटनाप्रति बागमती प्रदेश सांसद जोशीले देखाए चासो

चितवन,२९ चैत्र । बागमती प्रदेशका सांसद उत्तम जोशीले केही दिन अघि अज्ञात व्यक्तिले हात्तीको सूँड काटेको घटना बारे चासो व्यक्त गर्नुभएको छ ।

जोशीले सौराहास्थित हात्तीसारमा पुगेर घाइते हात्तीको स्वास्थ्य अवस्था बुझ्नु भएको हो । उहाँले हात्तीको उपचारमा संलग्न राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी प्राविधिक किरण रिजालसँग हात्तीको स्वास्थ्य अवस्था बुझ्नु भएको थियो । भेटेनरी प्राविधिक रिजालका अनुसार हात्तीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको छ ।

सांसद जोशीले घटनाको अनुसन्धानको बिषयमा पनि चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसँग बुझ्नुभएको थियो । सो क्रममा प्रजिअ पौडेलले सिआईबीको टोली नै घटनाको अनुसन्धान गरिरहेको जानकारी गराउनुभएको थियो । घटनामा संलग्नलाई छिट्टै पक्राउ गर्ने प्रजिअ पौडेलले बताउनुभयो ।

जोशीले हात्तीको सूँड काट्ने जस्तो जघन्य अपराधमा संलग्नलाई यथाशिघ्र पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो । घटनाको बिषयमा सरकारको ध्यानाकर्षण गराउँदै उहाँले सदनबाट पनि सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाउनुभयो ।

गत चैत २१ गते राति ११स्३० बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी स्थानीय पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको चन्चलकलीको सूँड काटिदिएको थियो । हात्तीले अहिले विस्तारै आँफै पानी पिउन थालेको खतिवडाले बताउनुभयो । केही दिनमै हात्तीले आँफैले खाने कुरा टिपेर खाने सम्भावना देखिएको उहाँले बताउनुभयो ।–00–

Share:

सम्बन्धित समाचारहरु