अडियो काण्डः रास्वपा बैठकको समय परिवर्तन,बैठकपछि पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक गर्ने

काठमाडौं,२९ चैत्र। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकको समय परिवर्तन गरिएको छ ।

आज बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो । सो बैठक आजै दिउँसो २ बजे बस्ने तय गरिएको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए । केन्द्रीय समिति बैठकपछि काठमाडौंमा पत्रकार सम्मेलन गरिने उनले बताए । बैठकबाट रास्वपाका सांसद डा। ढाकाकुमार श्रेष्ठबारे निर्णय गरिनेछ ।

अडियो प्रकरणले पछिल्लो समय सांसद श्रेष्ठ विवादित छन् । उनले मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसित दुई करोड रुपैयाँ माग गरेको भन्ने अडियो सार्वजनिक भएको हो । उक्त अडियो उनको भएरनभएको र कारबाहीबारे आजको बैठकबाट निर्णय गरिने बताइएको छ ।

“केन्द्रीय समितिको बैठक २ बजेलाई सारिएको छ । त्यसपछि काठमाडौंमा नै पत्रकार सम्मेलन हुनेछ,” प्रवक्ता ढकालले बाह्रखरीसित भने, “साथीहरू चारतिर छरिएकाले मिलाउँदा बैठक सार्न परेको हो । अन्य कुनै कारण छैन ।” रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो प्रकरणबारे मंगलबार पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

प्रारम्भिक बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको बयान दिएका छन् । उनले दुर्गा प्रसाईंलाई नचिनेको र उनीसँग फोन संवाद समेत नगरेको जिकिर गरेका छन् ।–00–

 

Share:

सम्बन्धित समाचारहरु