निर्माणको काम नरोके थप संघर्षका कार्यक्रमगर्ने चेतावनी

नारायणी किनारमा बन्दै गरेको तटबन्ध रोक्न २४ घण्टे अल्टिमेटम

चितवन । भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा सी बिच मोडलमा विकास गर्न बनाउन लागेको तटबन्धको विरोध सुरु भएको छ ।

तटबन्धले गैँडाकोट क्षेत्र डुब्ने भन्दै बुधबार गैंडाकोटमा ‘गैँडाकोट बचाऊ अभियान संघर्ष समितिले २४ घण्टाभित्र काम रोक्न अल्टिमेटम दिदै ज्ञापनपत्र बुझाएको छ । भरतपुर स्थित नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर समितिले ज्ञापनपत्र बुझाएको हो ।

नारायणगढतर्फ एकतर्फी रुपमा बनाउन लागिएको तटबन्ध निर्माणको कामले गैडाकोट असुरक्षित हुने भन्दै तत्काल निर्माणकार्य रोक्न माग गर्दै २४ घण्टे अल्टिमेटम दिइएको हो । त्यसो नभएमा संघर्षका कार्यक्रम सुरु गर्ने चेतावनी समेत संघर्ष समितिले दिएको छ ।

समितिका संयोजक गोकुल सापकोटाले व्यवस्थापन कार्यालयका कर्मचारीलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै आउँदो बर्षायाममै गैँडाकोट तर्फ ठूलो डुबान तथा धनजनको क्षति हुने गरी एकतर्फी तटबन्ध बनाउन लागिएकाले त्यसलाई नरोकिए सिंगो गैंडाकोटबासीहरु आन्दोलित हुने चेतावनी दिए ।

भरतपुर महानगरले सी बिच मोडलमा विकास गर्ने भनिएको नदी किनारमा अहिले झण्डै १७ करोडको लागतमा पुलको केही माथिपट्टि ६४० मिटर लम्बाइको किनारमा धमाधम तटबन्ध निर्माणको काम भइरहेको छ । कंक्रिटको त्यस्तो संरचनाले नदीको बहावलाई गैंडाकोट तर्फ फर्काउने र उता ठूलो क्षति हुने देखिन्छ । खास गरी तल्लो तटमा रहेको बोटे टोल सबैभन्दा बढी जोखिममा छ ।

गैँडाकोट क्षेत्रमा रहेका सबै राजनीतिक दलहरुका प्रतिनिधि सम्मिलित संघर्ष समितिको बैठकले नारायणगढतर्फको तटबन्ध निर्माण कार्य तत्काल रोकिनुपर्ने र यो बर्खायामपछि बृहत् अध्ययन र छलफलपछि दुवै पक्षको सहमतिमा मात्रै त्यस्तो निर्माण कार्य हुनुपर्नेमा जोड दिएको छ ।

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु