काठमाडौं, १७ फागुन । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । दर्जनौं यात्रु घाइते भएका छन् ।
समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । एपी समाचार एजेन्सीले दुर्घटनामा ६० जना घाइते भएका र २५ जनाको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।
मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किएका थिए । रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए ।


