काठमाडौँ २, फागुन । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ४ थाई, २ भारतीय र ७ नेपालीलाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर उनीहरुविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
ब्युरोले काठमाडौं महानगरपालिका–२१ दलाछी टोलबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन २० हजार ३ सय एम्पुल, नाइट्राभेट १२ हजार ९ सय ५० ट्याब्लेट र नगद ४ लाख ५ हजार रुपैयाँसहित सोलुखुम्बु माप्यदुधकोसी गाउँपालिका–४ ठेगाना भएका ३५ वर्षीय लाक्पा शेर्पालाई माघ २४ मा पक्राउ गरेको थियो । शेर्पा २०७० असार ७ मा हातहतियार मुद्दामा ३ वर्ष कैद भुक्तान गरी छुटेको पाइएको ब्युरो प्रमुख एसएसपी विकासराज खनालले बताए ।
शेर्पामाथि अनुसन्धान गर्ने क्रममा लागूऔषध कारोबारमा संलग्न भारत बिहारको मधुवनीका ३८ वर्षीय फैज अहमदलाई काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट माघ २५ मा, धनुषा औरही गाउँपालिका–३ कपटोलका २९ वर्षीय रिहासद भन्ने अयान रेजा तथा औरही गाउँपालिका–३ कपटोलका ४५ वर्षीय जाकिर नदाफलाई माघ २६ मा पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ का २४ वर्षीय दीपक तामाङलाई काठमाडौं महानगर–१६ बालाजुबाट नगद ६ हजार रुपैयाँसहित माघ २७, नुवाकोट शिवपुरी गाउँपालिका–८ का २९ वर्षीय लक्ष्मण बखतीलाई काठमाडौं महानगर–२२ काठमाडौं मलबाट नगद ६ हजार रुपैयाँसहित माघ २७ मा प्रहरीले पक्राउ गरेको हो ।–00–


