शारदानगर,२६ माघ । भरतपुर–१९ स्थित शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौथो साधारण सभा बुधबार शारदानगरमा सम्पन्न भएको छ ।
उक्त साधारण सभामा भरतपुर–१९ का वडाध्यक्ष प्रकाश तामाङ प्रमुखअतिथि रहेका थिए । कार्यक्रममा बोल्दै उनले शारदानगर खानेपानी आयोजनाले यस क्षेत्रका उपभोक्ताहरुलाई शुद्ध र गुणस्तरीय पिउने पानीको सहज पहुँच हुने बताउँदै यस आयोजनाबाट बढीभन्दा बढी लाभ लिन उपभोक्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा संस्थाकी सदस्य बालमाया घलेले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संस्थाको आयव्यय विवरण शान्तिमाया घलेले प्रस्तुत गरेकी थिइन् । भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा दुई ठाउँमा खानेपानी परियोजना सञ्चालन भैरहेका छन् । ५७ करोडबराबरको लागतमा खानेपानीको परियोजना भरतपुर–१९ स्थित शारदानगरमा र मिलडाँडामा सञ्चालन भइरहेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर–१६, १७, १९, २० र २१ का ३६ सय ५२ घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्यसहित २६४ किमी क्षेत्रफलमा १२५ मिटर गहिरो ६ वटा डिप बोरिङको माध्यमबाट २४ सै घन्टा खानेपानी सेवा उपलब्ध गराउने संस्थाकी अध्यक्ष शान्तमाया गुरूङ बताउँछिन् । शारदानगरमा सञ्चालित परियोजना सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ३ प्रतिशत भरतपुर महानगर र २ प्रतिशत उपभोक्ताबाट बेहोरिने प्रावधान छ ।–00–