आवाजा, तुर्कमेनिस्तान – साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन्।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको आवाजा सहर पुगेका प्रधानमन्त्री ओलीले आज भएको भेटका क्रममा आगामी वर्ष नेपाल भ्रमणको प्रस्ताव राखेका हुन्।
दुई नेताबीचको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै प्रधानमन्त्री ओलीले नेपाल र तुर्कमेनिस्तानबीचको द्विपक्षीय हित, चासो, सहयोग र सहकार्यका विषयमा गहन छलफल भएको जानकारी दिए। उनले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउने विषयमा पनि कुराकानी भएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले छोटो अवधिमा तुर्कमेनिस्तानले हासिल गरेको उल्लेखनीय विकासको प्रशंसा गर्दै नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने जानकारी पनि गराएका थिए। त्यस अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनको भव्य आयोजना गरेकोमा राष्ट्रपति बेरदिमुहामेदोभलाई धन्यवाद दिँदै आगामी दिनमा आपसी सहयोगलाई थप सशक्त बनाउने अपेक्षा व्यक्त गरे।
हरेक १० वर्षमा आयोजना हुने यो सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विभिन्न उच्चस्तरीय भेटघाट र कार्यक्रमहरूमा सहभागिता जनाइरहेका छन्। प्रधानमन्त्री ओलीको आजै अन्य राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग पनि भेटघाट तय भएको छ।—00–


