काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार र सरकारका कामकारबाहीबारे छलफल गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बिहान बालकोटमा भएको भेटघाटमा संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।
बालकोटको भेटपछि प्रधानमन्त्री दाहालले संयन्त्रको बैठक बसेर सबै विषयमा छलफल गर्ने जानकारी दिए । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा अहिले सत्तारुढ दुई दल माओवादी केन्द्र र एमालेबीच फरक मत प्रकट भइरहेको छ । एमाले पूर्वसहमतिअनुसार राष्ट्रपतिको उम्मेदवार आफूले खडा गर्ने दाबी गरिरहेको छ । प्रधानमन्त्री दाहाल भने कांग्रेसले पनि विश्वासको मत दिएकाले उसका लागि समेत अनुकूल हुने व्यक्ति हुनुपर्ने पक्षमा छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थाबारे पनि बुधबार दुई शीर्ष नेताबीच कुराकानी भएको थियो । मंगलबार मात्र प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले दाहालसँग छलफल गरेका थिए ।
रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले गृह, शिक्षा र श्रम मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । यसअघि पनि उनले वन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आफैँले हेर्दै आएका थिए ।