पोखरा । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
सन्दीपविरुद्ध बलात्कारको आरोपमा जाहेरी परेपछि उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो । तर, उच्च अदालतको आदेशले धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । यता, मंगलबार नै उच्च अदालतको आदेशविरुद्ध महान्यायाधीवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ । सन्दीलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गरेर थुनामै मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधीवक्ताको कार्यालय सर्वोच्च पुगेको हो ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उनी ०७८ मंसिर २९ गते बसे राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए ।