भरतपुर । यसवर्षको एसइई परीक्षामा चितवनवाट १० हजार ८ सय ४४ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १७ गतेदेखि एसइई परीक्षा हुने कार्यतालिका छ । शिक्षा विकास तथा समन्वय इकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार गत वर्षको तुलनामा यसवर्ष चितवनबाट एसइई परीक्षामा कम विद्यार्थी सहभागीहुँदैछन् ।
गत वर्ष चितवनमा १२ हजार १ सय ६१ जनाले एसइई परीक्षा दिएका थिए । समन्वय इकाइ प्रमुख सुवेदीका अनुसार यसवर्ष ५ हजार २ सय ९३ छात्रा र ५ हजार ४ सय ३० छात्रले एसइई परीक्षा दिँदैछन् । गत वर्ष ६ हजार १ सय ९३ छात्र र ५ हजार ९ सय ६५ छात्राले एसइई परीक्षा दिएका थिए । यसपटक प्राविधिक धारतर्फका सातवटा विद्यालयले एसइई परीक्षामा सहभागिता जनाउने भएका छन् । प्राविधिक धारतर्फका सात विद्यालयका २ सय ५१ विद्यार्थीले एसइई परीक्षा दिने समन्वय इकाइ प्रमुख सुवेदी जानकारी दिए ।
एसइईमा सहभागी हुने प्राविधिक धारका सात विद्यालयहरुमा भरतपुर–२५ को प्रभात मावि, कालिका पदमपुरको भीमोदय मावि, माडीको माडी मावि, रत्ननगरको नेपाल मावि, मुग्लिनको त्रिवेणी बराह मावि, चनौलीको भीमनगर मावि, राप्तीको बुद्धशान्ति मावि रहेका छन् । समन्वय इकाइका अनुसार यसपटक प्राविधिकतर्फ १२१ छात्रा र १३० छात्रले एसइई परीक्षा दिनेछन् । चैत १७ गतेबाट हुने एसइई परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिसकेको छ । बिहान ८ बजेदेखि परीक्षा सुरू हुने भएको छ ।
चितवनमा यसवर्ष ग्रेड वृद्धिका लागि परीक्षा दिने विद्यार्थी ९२ जना रहेको समन्वय इकाइका सूचना अधिकारी दीपेन्द्रराज श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सातवटा संस्कृत विद्यालयहरुले पनि यसवर्षको एसइईमा सहभागिता जनाउने भएका छन् । भरतपुर–१ को योगी नरहरिनाथ संस्कृत गुरूकुलम, रामजानकी गाग्री कन्या गुरूकुलम, सीताराम संस्कृत मावि, भरतपुर–१८ को परमानन्द स्मृति वैदिक गुरूकुलम, रत्ननगरको गायत्री वेद वेदाश्रम, रामवैदिक गुरूकुलम र भरतपुररू४ को वैकुण्ठ परमवैदिक विद्या भवन प्रतिष्ठानले यसवर्षको एसइई परीक्षामा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ चितवनले जनाएको छ । गत वर्षजसरी यसवर्ष पनि चितवनमा एसइईको ४२ केन्द्र रहने भएको छ । इकाइ प्रमुख सुवेदीले भने, ‘पायक पर्ने ठाउँमा नै परीक्षाको केन्द्र राखिनेछ, गत वर्षजसरी यसवर्ष पनि ‘होम सेन्टर’ दिइने छैन ।’
१७ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा परीक्षा तालिका हेर्न सकिनेछ । चैत २९ गते परीक्षा समापन हुने जनाइएको छ ।