प्रधानमन्त्रीको निर्देशनपछि भरतपुर अस्पतालमा भीड व्यवस्थापन हुन थाल्यो

भरतपुर । भरतपुर स्थ्ति सरकारी अस्पतालले आफ्नो सेवा सुविधालाई व्यवस्थ्ति बनाउन थालेको छ । अस्पतालले दिने सेवा सुविधाहरु व्यवस्थित नहुँदा सेवाग्राहीले अनावश्यक सास्ती भोग्नुपरेको गुनासाहरु बढ्दै गएको थियो । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी अस्पतालमा हुने सेवाग्राहीको भीड व्यवस्थापन गर्न निर्देशन दिएपछि अस्पतालले सहज तरिकाले सुविधा दिने कतिपय सेवाहरु एकै ठाउँबाट दिन सकिने व्यवस्था मिलाएको छ ।

टिकट, बिलिङ, डिस्चार्ज, प्रयोगशाला नमुना संकलन, वितरणजस्ता सेवाहरु छरिएर रहेको र बिरामीमा यसले नकारात्मक सन्देश गएको तथा हैरानी खेपेको भनी अस्पताल प्रशासनले बिरामीको भीड ख्याल गरी अत्यावश्यक ठाउँमा सेवा विस्तार गरेको हो । बिरामी र तिनका आफन्तले फाइल बोकेर चहार्नुपर्ने अवस्था अन्त्य गर्न प्रयासस्वरुप काम थालिएको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले भीडभाड व्यवस्थापन मुख्य चुनौती रहेको भन्दै सेवामा गुणस्तरीयता र अस्पतालप्रति सेवाग्राहीको विश्वास बढाउनका लागि नयाँ कामको थालनी भएको बताए ।

आफू अध्यक्ष भएको एक महिनामा अस्पतालका समस्याहरु पहिचान गर्नुका साथै केही समस्याहरुको क्रमिक समाधान पनि हुँदै गएको जानकारी दिँदै उनले केही कर्मचारी अभाव, थोरै बजेट अपुग हुँदैमा सेवामा कमी आउन नदिने बरू त्यस्ता समस्या तत्काल समाधान गरेर जनमुखी सेवा दिने काममा आफू केन्द्रित रहेको प्रतिक्रिया दिए । अस्पतालको यथार्थ अवस्थाबारे अध्यक्ष पौडेलले स्वेतपत्र जारी गरी सुधारका कामहरु थालिएको जानकारी गराएका थिए ।

भीडभाड व्यवस्थापनका लागि साबिकको रहेको बिलिङ काउन्टरलाई इमर्जेन्सी र ब्लक बी मा विस्तार गरिएको छ । विस्तारित इमर्जेन्सी काउन्टरबाट आकस्मिक सेवा लिनका लागि सबै सेवा त्यहीँबाट दिइने गरी व्यवस्थापन गरिएको अस्पतालका प्रवक्ता डा। गोविन्द कँडेलले जानकारी दिए । आकस्मिक कक्षभित्र छुट्टै प्रयोगशाला र एक्स–रे सुविधासमेत व्यवस्था गरिएको छ ।

‘प्रसूति तथा स्त्रीरोग विभागमा भर्ना हुन बिलिङ गर्ने एवं डिस्चार्ज गर्नेजस्ता सबै कामहरु ब्लक बी को ३२ नम्बर कोठासँगै रहेको काउन्टरबाट गरिनेछ’, प्रवक्ता डा। कँडेलले भने, ‘फाइल लिएर बिरामी वा तिनका आफन्त फरक–फरक भवन र ठाउँ–ठाउँका कोठाहरु चहार्दै हिँड्न नपरोस् भनेर सेवा केन्द्रीकृत गरिएको हो ।’

बिमाका बिरामीको शल्यक्रियाको पालो ढिला आएको गुनासो सम्बोधन गर्न अस्पताल प्रशासनले दिउँसो २ः३० बजेपछि पनि बिमाका बिरामीलाई शल्यक्रिया गर्न सर्कुलर गरिएको छ । उल्लेखित समयसम्म मात्र बिमाका बिरामीलाई सेवा दिने गरेकोमा थप समयमा पनि सेवा दिई शल्यक्रियाको चाप कम गर्ने प्रयास थरिएको प्रवक्ता डा. कँडेलले बताए ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु