रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले व्यवसाय पहिचान बोर्डमा २० स्क्वायरफिट सम्म छुट दिने निर्णय गरेको छ ।
मेयर प्रल्लाद सापकोटाले व्यवसायीको मागलाई सम्बोधन गर्दै १२ स्क्वायरफिट बाट बृद्धि गरी २० स्क्वायरफिट सम्म छुट दिने निर्णय भएको बताए । संस्थागत तथा व्यक्तिगत रुपमा व्यवसायीबाट गुनासो आएपछि २० स्क्वायरफिट सम्म छुट दिने निर्णय गरेको उनले जानकारी दिए ।
सो नगरपालिकाले चालु आर्थिक बर्ष देखि पहिचानको लागि व्यवसाय गरेको घरमा राख्दै आएको बोर्डको कर उठाउन सुरु गरेको थियो । ठेक्का आह्वान गरी साउन महिना देखि कर उठाउन थालिएको हो । १२ स्क्वायरफिट सम्मको बोर्डमा कर नलाग्ने र सो भन्दा बढी स्क्वायरफिट भएमा प्रति स्क्वायरफिट ५० रुपैयाका दरले कर उठाउन सुरु गरिएको थियो ।
स्थानीय सरकारले गरेको उक्त कामको रत्ननगर उद्योग बाणिज्य संघले संस्थागत रुपमा, ठुला व्यवसायी तथा बैंक,वित्तीय संस्थाहरुले विरोध गरेका थिए । अर्को आर्थिक बर्षमा ३० स्क्वायरफिट सम्म छुट दिने गरी चालु आर्थिक बर्षको लागि २० स्क्वायरफिट सम्म छुट दिने निर्णय भएको मेयर सापकोटाले बताए ।
हामी व्यवसायीको पक्षमा छौं उनले भने व्यवसायीहरुले निर्वाद रुपमा व्यवसाय सञ्चालन गर्न पाउनु पर्छ भन्ने मान्यता हामी राख्छौं । स्थानीय सरकार व्यवसायीको चित्त दुखाएर काम गर्ने पक्षमा नरहेको उनको भनाई छ ।