नारायणगढ । ‘मेड इन नेपाल एक्स्पो २०७९’ आजदेखि सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चितवन महोत्सव परिसरमा एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोको मंगलबार भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरेका हुन् ।
एक्स्पोमा ४० वटा स्टल रहेका छन् । १० वटा स्टार्ट अप विजनेशका स्टल रहेका छन् । भर्खरै उद्यमशिल बनेका युवाहरु बीच ‘विजनेश आइडिया’को विषयमा मञ्चले प्रतिस्पर्धा पनि गराउँदै छ । उत्कृष्ट हुनेले नगद एक लाख रुपैयाँ पुरस्कार पाउने छन् । एक्स्पोको उद्घाटनपछि बोल्दै उपप्रमुख अधिकारीले नेपाली उत्पादनको प्रबद्र्धनका लागि एक्स्पोले सहयोग पुग्ने बताए । महागनरले पनि बेलाबखत सिपमुलक तालिमको आयोजना गर्दै आएको भन्दै उनले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताए । ‘स्थानीय उत्पादन बृद्धि र रोजगार सिर्जना गराउने काममा युवा उद्यमीसँग सहकार्य गर्न महानगर सदैव तयार छ’, उनले भने ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विदेशमा सिप सिकेर आएका युवालाई स्वदेशमा नै उत्पादनसँग जोड्न एक्स्पोले मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले नेपाली उत्पादनले विदेशी उत्पादनसँग पनि प्रतिस्पर्धा गर्न सरकारले पनि सहयोग गर्नुपर्ने बताए । नेपाली उत्पादनको राम्रो ब्राण्डिङ पनि हुन नसकेको उनले बताए ।
नेपाली युवा उद्यमी मञ्चका केन्द्रिय सदस्य पवित्र गौतमले नेपाली वस्तु तथा सेवाको मञ्चले प्रबद्र्धन गर्दै आएको बताए । नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले सरकारको न्युनतम साझा कार्यक्रम ‘मेक इन नेपाल’लाई ‘मेड इन नेपाल एक्स्पो’ले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।-