नारायणी नदी किनारमा आजदेखि चितवन महोत्सवको सुरु -( फोटो फिचर )

चितवन । नारायणी नदी किनारमा आजदेखि चितवन महोत्सवको सुरु भएको छ । यो १४ औं संस्करण हो । नारायणी नदी किनारको प्रदर्शनी मैदानमा सुरु भएको महोत्सवको बागमती प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठले समुद्घाटन गरेका छन् ।

पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रमुख अतिथिको रुपमा आयोजकले निम्तो गरेपनि विविध कारणले पौडेल उपस्थ्ति हुन नसकेपछि मन्त्री श्रेष्ठले महोत्सवको उद्घाटन गर्नुभएको हो ।

यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टैछुट्टै परिसर रहेका छन् । चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक तोरी र मौरीलाई प्रवद्र्धन गर्नेगरी तोरीबारी सहित मौरीको मस्कट महोत्सवभित्र राखिएको छ । महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका कक्ष रहेका छन् ।

नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवद्र्धन र विकासमा जोड दिईएको महोत्सव मुल समारोह समितिका संयोजक चुननारायण श्रेष्ठले बताउनुभयो ।

माघ ४ गतेसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिएका छन् । विसं २०५३ देखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाखले अवलोकन गर्ने तथा रु २५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

उद्घाटन समारोहमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु