सिमोन चौधरी-
चितवन । नेपालमा पानीचराको संख्या एकिनगर्न शनिवारदेखि पानीचरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा पानीचरा गणना सुरु गरेको हो । अरु ठाउँमा शनिवारदेखि चरागणना सुरु भएपनि चितवनमा भने आइतवारदेखिमात्रै गणना सुरु भएको छ ।
चरागणनाको क्रममा केही स्थानमा चरादेखिने क्रम घट्दै गएको छ । वर्ड एजुकेशन सोसाइटीको नेतृत्वमा भइरहेको चरागणना गर्ने क्रममा ढुङ्ग्री खोला रु बूढीराप्ती खोला क्षेत्रमा पानीचरा कम देखिको गणकहरुले बताएका छन् । यि क्षेत्रमा चराको संख्या सन्तोषजनक नभएको वड एजुकेशन सोसाईटीका पूर्व अध्यक्ष टेकवहादुर गुरुङले बताउनुभयो । बासस्थानको अभावसँगै खोलानदी क्षेत्रमा भइरहेको अतिक्रमण, कटान र मानविय चहलपहलका कारण चराको संख्या घट्दै गएको गणक गणेश अर्यालको भनाई छ । उनी वर्ड एजुकेशन सोसाईटी सौराहका कार्य समिति सदस्य समेत हुन।
उता गैडहवा घाटदेखि सौराहा घाट सम्मको अवस्था भने सुधार देखिएको वर्ड एजुकेशन सोसाईटीका पूर्व अध्यक्ष बासु विडाले बताए । यो वर्ष नदी क्षेत्रमा मानविय चहल पहल समेत देखिएन उनले भने – यो क्षेत्र चराहरुको बासस्थानलाई राम्रो मानिन्छ । पूर्वी चितवनमा वर्ड एजुकेशन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना भइरहेको छ । निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत लोथर पुलदेखि कसरा पुलसम्म चराको गणना हुनेछ । पहिलोदिन आइतवार चराको मुख्य बासस्थान रहेको राप्तीनदी, ढुङ्ग्री खोला, बूढीराप्ती खोला, बिसहजारी ताल, राईनो ताल क्षेत्रमा चरा गणना सकिएको छ ।
यस्तै चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत लामी ताल, तमोर ताल, बरुण तालमा आइतवारनै चरागणना गरेर सकिएको छ । ८ वटा टिममा बनाएर एकैदिनमा लोथरदेखि कसरा पुल सम्म चरा गणना गरिएको चरागणक बद्री चौधरीले जानकारी दिए । माडीको रिउखोला र दिव्यनगरको फार्मल्याण्ड क्षेत्रमा भने सोमवार गणना हुनेछ । लोथरदेखि जिन्दगानीघाट सम्म हिडेर चरा गणना गरेका छन् । जिन्गानीघाटदेखि कसरा सम्म डुंगाको प्रयोग गरेर चरा गणना गरिएको छ । यस्तै सिमसार क्षेत्रका तालहरुमा भने जीप प्रयोग गरेर चरा गणना गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत जलपक्षी गणना गरिनेछ । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार आठ सय ९२ प्रजातिका चरा छन् । जसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५९ प्रजातिका चरा छन् । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको छ । चरा गणना तीन हप्तासम्म चल्ने छ ।