खैरहनीमा जितीया विशेष सांस्कृतिक कार्यक्रम (भिडियो सहित)

भदौ २८, खैरहनी । मङनी महिला समुहले मंगलवार खैरहनीमा जितीया विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जानकारी दिए ।

कार्यक्रममा सहभागी थारु समुदायका महिलाहरुले शुभकामना आदानप्रदानसमेत गरेका छन् । मङनी महिला समुहको आयोजना तथा नवदुर्गा मङनी टोल विकास संस्था, मङनी खेलकुद मैदन समिति, मङनी युनिटी, मङनी ब्रह्मस्थान, थारु कल्याण कारिणी क्षेत्र नं ७ ईकाई समिति खैरहनी ८ को सह आयोजनामा संयुक्त रुपमा कार्यक्रम भएको हो ।

पछिल्लो समय जितीयामा पनि सामूहिक दर खाने कार्यक्रम हुन थालेका छन् । वडास्तरमा रहेका राजनीतिक दल, सहकारी संस्था, आमा समूह, कृषक समूहहरुले जितिया पर्वको अवसरमा दर खाने तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम आयोजना गर्दै आएका छन् । गाउँभरिका महिला दिदीबहिनीहरु भेला भएर झाम्टा पार्ने चलन छ ।

यसवर्ष असोज २ गते जितीया पर्व मनाइँदै छ । तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिन शिव र सूर्य भगवानलाई पूजा गर्ने, दोस्रो दिन पानी पनि नखाई निराधार व्रत बसेर बेलुका जितवाहनको कथा सुन्ने र तेस्रो तथा अन्तिम दिन शिव र सूर्य भगवान्को पूजा गरेपछि जितीया समापन हुने गर्दछ । श्रीमान् तथा परिवारको उन्नतिको कामना गर्दै जितियामा महिलाहरु निराधार व्रत बस्ने गरेको पाईन्छ ।

मङनी महिला समुहकी संयोजक शान्ति कुमारी चौधरीले एउँटै गाउँमा छरिएर रहेका महिला दिदी बहिनीहरुलाई गोलबद्ध गराउनका लागि यो जितीया विशेष सांस्कृतिकको आयोजना गरेको बताईन् ।

उनले आफ्नो धर्म, कला, संस्कृतिलाई जोगाई राख्नका लागि पनि जितीयाको दर ९डढखट० खाने कार्यक्रम राखिएको उनको भनाई छ । सन्तानको सुख, शान्ति र समृद्धिका लागि जितीया बर्त बस्ने गरेको उनले बताईन् ।

खैरहनी नगरपालीकाका वडा अध्यक्ष शंकर कंडेलले थारुहरुका ऐतिहासिक बस्तुहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘थारुहरुका पानी खाने पुराना ईनार, ब्रम्ह्स्थान लगाएर सांस्कृतिक झल्कने पुरातात्वीक बस्तुहरुको संरक्षण र संवद्धन गर्नुपर्छ ।’

समुहकी संयोजक चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडा नं। ८ का वडा सदस्य श्याम कुमार पाठक, थारु कल्याण कारिणी क्षेत्र नं ७ ईकाई समिति वडा नं ८ का सभापति कारी चौधरी, मङनी ब्रम्ह्स्थानका पूजारी सोमलाल चौधरी, नवदुर्गा मङनी टोल विकास संस्थाका अध्यक्ष जीवन चौधरी लगायतले मन्तव्य राखेका थिए ।

समुहकी सदस्य तथा वडा नं।८ की सदस्य वर्षा चौधरीले स्वातग मन्तव्य राखेकी कार्यक्रममा समुहकी सदस्य मञ्जु चौधरीले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

(भिडियो)

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु