भैंसी चराउन जंगल गएका माडीका एक वृद्ध मृत फेला

चितवन । भैंसी चराउन जंगल गएका माडीका एक वृद्ध मृत फेला परेका छन् । माडी नगरपालिका २ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी शनिबार २५ वर्षका छोरा होमबहादुरसँगै घरदेखि उत्तरको अमेलिया मध्यवर्ती सामुदायिक वनमा भैंसी चराउन गएका थिए ।

होमनाथले बाबुलाई हिजो दिउँसो १ बजे नै घर पठाएका थिए ।

 

साँझ होमनाथ जंगलबाट भैंसी लिएर घर फर्के तर बुबा सूर्यनाथ आएका थिएनन् । खोज्न गएका गाउँले र आफन्तले सूर्यनाथको टोपी, चप्पल र छाता फेला पारेका थिए । बाटोमा रगतको टाटो पनि देखेपछि जंगली जनावरले आक्रमण गरेको हुन सक्ने भन्दै स्थानीयले खोजी गर्न प्रहरीमा निवेदन दिएका थिए ।

खोजतलासको क्रममा जंगलमा आइतबार बिहान साढे ८ बजे सूर्यनाथको शव फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । उनलाई बाघले आक्रमण गरेको हुनसक्ने डिएसपी पण्डितले बताएका छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु