– ध्रुवराज खनाल
साउन ३१, खैरहनी । खैरहनी नगरपालिका क्षेत्रभित्र रहेका गरिब समुदायमा प्रयोगमा आइरहेको चापाकलको पानी शुद्ध नरहेको हालै गरिएको पानी परीक्षणले देखाएको छ ।
खानेपानीको पहुँच नपुगेका क्षेत्रमा गरिएको पानी परीक्षणमा कोलिफर्म ९दिसाजन्य फोहोर० देखिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्राविधिक योगेन्द्रनारायण देवले बताए। २० वटा घरधुरीबाट नमुना परीक्षण गरिएकोमध्ये १६ वटा घरको चापाकलको पानीमा दिसामा पाइने कोलिफर्म देखिएको देवले बताए ।
नगरका वडा कार्यालयहरुको समन्वय तथा लुमन्तीको आर्थिक सहयोगमा पानी परीक्षण गरिएको थियो । खैरहनी वडा नम्बर–१ को नमुना बस्ती, सोही वडाको गोर्खाली टोल, वडा नम्बर–१० को जीवनपुर, सुन्दरबस्ती र मुसहर टोल, वडा नम्बर–११ को सिद्धार्थ र हरियाली टोल तथा वडा नम्बर–१३ को सिम्रेनीबाट पानीको नमुना संकलन गरी परीक्षण गरिएको थियो ।
आयोजनाका प्राविधिक देवले त्यस्ता समुदायले शुद्घीकरण गरेर मात्र पानी पिउनुपर्ने बताए । कोलिफर्म देखिएको पानी पिउँदा हैजा, झाडापखाला, आउँजस्तो रोग लाग्दछ ।
खैरहनी वडा नम्बर–१ का वडा अध्यक्ष नवराज भूषालले रिपोर्टमा पानी पिउन अयोग्य देखिएकाले यसका बारे आफूहरु गम्भीर रहेको बताए । ‘पानी प्रयोग गर्न अयोग्य रहेको रिपोर्ट पाएँ’, वडाध्यक्ष भूषालले भने, ‘खानेपानी पाइपलाइन विस्तार वा अन्य विकल्पका बारे नगरसँग समन्वय गरेर योग्य पानी वडावासीलाई उपलब्ध गराउनेछौँ ।’
ती समुदायमा कोलिफर्म देखिएपछि पर्सा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पाइपलाइन विस्तार गर्ने जनाएको छ । त्यसका लागि टोलको भेला बसेर संस्थालाई निवेदन आएमा पाइपलाइन विस्तार गरिने संस्थाका अध्यक्ष गणेश बर्तौलाले जानकारी दिए । पहिलो चरणमा सिम्रेनीमा पाइपलाइन विस्तार गर्ने योजना रहेको बर्तौलाले बताए ।
खैरहनी नगरपालिका वडा नम्बर–१३ का वडा अध्यक्ष कुलप्रसाद भूषालले गरिब, सुकुमबासी बस्तीमा खानेपानीको पाइपलाइन विस्तार गर्नुपर्ने बताए । ‘सबै नगरवासी समान हुन्, सबैले योग्य पानी प्रयोग गर्न पाउनुपर्छ’, वडाध्यक्ष भूषालले भने, ‘सरकारी, गैरसरकारी संस्थाको सहकार्यमा त्यस्ता बस्तीमा शुद्ध पानी पु¥याउने छौँ ।’