रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घण्टी

काठमाडौँ, असार ७

पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका छन् ।

आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गरेका हुन्।

अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए।

पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए । तर, पार्टी घोषणा गरेपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित र मुख्यमन्त्रीको एजेन्डा अघि बढाउने बताए । नेपालमा अहिले संसदीय प्रणाली छ । संघीय सरकारमा प्रतिनिधि सभाबाट प्रधानमन्त्री र प्रदेश सभाबाट मुख्यमन्त्री छानिने संवैधानिक व्यवस्था छ ।

लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए।

‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ उनले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।’ राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन् ।

उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए। पार्टीमा को–को छन् भन्नेबारे उनले खुलाएका छैनन् । तर, पार्टीको पहिलो बैठक आजै बसुन्धारामा बस्ने उनले जानकारी दिए। केन्द्रीय कार्यालय उद्घाटनलगत्तै पार्टीको बैठक बस्नेछ ।

उनले पार्टीमा चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको उनले जानकारी दिए । आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु