को हुन् जिल्ला समन्वय समिति चितवनको प्रमुखका दुई उम्मेदवार अधिकारी र रानाभाट ?

चितवन, जेठ ३०

जिल्ला समन्वय समिति चितवनको प्रमुख पदका लागि भोलि निर्वाचन हुने भएको छ । निर्वाचनका लागि सत्ता गठबन्धन पाँच दलको तर्फबाट पूर्णबहादुर रानाभाट र एमालेको तर्फबाट नारायण अधिकारी प्रतिस्पर्धामा छन् ।

पाँच दलीय गठबन्धन र एमालेको तर्फबाट मत बराबर रहेकोले पहिलो चरणमा हुने मतदानमा मत बराबर आएमा दोस्रो चरणमा चिठ्ठाबाट प्रमुख चयन हुने सम्भावना देखिन्छ । सात स्थानीय तहका प्रमुख र उपप्रमुखले समन्वय समितिका लागि निर्वाचन गर्ने व्यवस्था रहेको छ । भरतपुर महानगरपालिका र राप्ती नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनले जितेको छ भने माडी नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेसले जितेको छ । इच्छाकामना र कालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको छ । त्यसैगरी रत्ननगरमा मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ । खैरहनी नगरपालिकामा पनि मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ । यसरी एमाले र पाँच दलीय गठबन्धनको दुवैको मत सात हुन आउँछ । यसरी एमालेले उपप्रमुखमा उम्मेदवारी नदिँदा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार कल्पना काफ्ले सापकोटा उपप्रमुख निर्विरोध भएकी छन् । एक मत क्रस भएर जसले पाउँछ उसले निर्वाचन जित्ने सम्भावना देखिन्छ ।

यस्तै तीन जना खुला सदस्यहरुमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अर्जुन भण्डारी, धर्मलाल देवकोटा र कांग्रेसका संजीव पौडेलको उम्मेदवारी परेको छ । एमालेबाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईले खुला सदस्यमा उम्मेदवारी दिएका छन् ।

तीन जना महिला सदस्यमा गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा एसकी पूजना गुरुङ र माओवादी केन्द्रकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेद्वारी परेको छ । एमालेबाट अनिता नेपाल र सविता चौधरीले उम्मेदवारी दिएका छन् ।

एक दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसले केशरी माया सुनार र माओवादी केन्द्रले गुनु विकलाई उम्मेदवार बनाएको छ ।

को हुन् एमालेका अधिकारी ?

एमालेबाट जिल्ला समन्वय समितिको प्रमुख पदमा उम्मेदवारी दिएका नारायण अधिकारी एमालेको वाग्मती प्रदेश कमिटीको सदस्य हुन् । जिल्ला समन्वयमा उम्मेदवारी दिनकै लागि उनी इच्छाकामना वडा नम्बर ३ को सदस्य पदमा गत स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । उनले विद्यार्थी जीवनबाटै २०३६ सालबाट कम्युनिस्ट राजनीति सुरु गरेका थिए । सरल र सामान्य जीवन बिताउन चाहने अधिकारी २०३७ सालबाट पार्टीमा संगठित भए । एसएलसीपछि नै शिक्षण पेसा अँगालेका अधिकारीले २९ वर्ष ११ महिना राष्ट्रिय आधारभूत विद्यालय कमेरेमा शिक्षकको रुपमा सेवा गरेर २०६५ सालमा सेवा निवृत्त भएपछि पूर्णकालिनरुपमा एमालेको राजनीतिमा सक्रिय भएका हुन् । उनले एमाले जिल्ला कमिटीमा झण्डै दुई वर्ष काम गरे भने नेकपा विभाजन ताका एमाले केन्द्रीय सदस्यको रुपमा पनि काम गरे ।

उनले जिल्ला समन्वय समितिको प्रमुख भएपछिको भावी योजनाबारे सुनाउँदै प्राकृतिक स्रोतसाधनको संरक्षण गर्ने आफ्नो मुख्य जिम्मेवारी रहेको नारायणी अधिकारीलाई बताए । उनले भने, ‘चितवन जिल्लाका स्थानीय तहबीचमा प्रभावकारी समन्वय गर्नुका साथै प्राकृतिक स्रोतसाधनको संरक्षणमा विशेष ध्यान दिनेछु । वैज्ञानिक उपभोगको लागि मेरो प्राथमिकता हुनेछ ।’

को हुन् गठबन्धनका उम्मेदवार रानाभाट ?

नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले जिल्ला समन्वय समिति प्रमुखमा पूर्णबहादुर रानाभाटलाई उम्मेदवार बनाएको छ । रानाभाट गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सर्वाधिक मतका साथ भरतपुर ८ को वडा सदस्यमा निर्वाचित भएका थिए । गौरीगञ्ज निवासी उनले दुई हजार १२८ मत प्राप्त गरेका थिए ।

कांग्रेस चितवनका पुराना नेता रानाभाट २०४९ सालको स्थानीय तह निर्वाचनमा साबिक भरतपुर नगरपालिका ८ को वडाध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेस चितवनका नेता भरतप्रसाद दवाडीले रानाभाट कांग्रेसका पुराना र अग्रज नेता भएको बताए । उनले भने, ‘ भीमबहादुर श्रेष्ठसँगै कम्युनिस्ट पृष्ठभूमिबाट रानाभाट कांग्रेसमा आएका हुन् ।’ जिल्ला समन्वय समितिको प्रमुखमा कसले बाजी मार्छ त्यो भने भोलिमात्र जानकारी हुनेछ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु