रत्ननगर, जेष्ठ २९
तुलमान गुरूङ
पर्यटन प्रवद्र्धनको लागि जनकौली मध्यवर्ती सामुदायिक वनले गतिविधि बढाएको छ । पर्यटन प्रवद्र्धनका लागि सम्भावित क्षेत्र भएर पनि प्रचारप्रसार अभाव र वन समितिले नयाँ योजना ल्याउन नसक्दा ओझेलमा परेको सामुदायिक वनले केही समययता गतिविधि बढाउन थालेको हो । जिल्लाका अधिकांश सामुदायिक वन पर्यटकीय गन्तव्य बन्दै जाँदा जनकौलीलाई पनि पर्यटकीय गन्तव्य बनाउन अहिलेको वन समिति लागिपरेको छ ।
विसं २०५८ सालमै समुदायमा आइसकेको वनमा १९ वर्षपछि नेतृत्व परिवर्तन भएयता बल्ल नयाँ गतिविधि बढाउने प्रयत्न गरिएको हो । यसअघिसम्म उपभोक्ताले घाँसदाउरा गर्नेबाहेक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकेको थिएन, जसले गर्दा पर्यटकीय गतिविधि शून्य थियो । करिब डेढ वर्षअघि आएको नयाँ समितिले वन क्षेत्रमा पर्यटकीय गन्तव्य विस्तार गर्ने प्रयास गरिरहेको अध्यक्ष जोगेन्द्र महतोले दाबी गरे ।
उनका अनुसार हाललाई डुङ्गाघाटबाट चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित हात्तीसारसम्म डुङ्गा सफारी गर्न सकिने व्यवस्था मिलाएको छ । ‘कुमरोज मध्यवर्ती सामुदायिक वनसँगको सिमानामा रहेको ढुङ्ग्रेखोलामा काठे डुङ्गामार्फत करिब एक घन्टाको यात्रा गर्न सकिन्छ’, उनले भने, ‘यात्राका क्रममा गोही, गैँडा, बाघसहित विभिन्न जीवजनावर तथा चराचुरूङ्गी देख्न सकिन्छ ।’
पर्यटकीय आगमन बढाउन जिप सफारी, पैदलयात्रा आदिलाई पनि खुला गरिएको उनले बताए । जम्मा ९७ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन क्षेत्रफलको हिसाबले अन्य सामुदायिक वनभन्दा सानो भए पनि आवश्यक संरचना निर्माणमा लगानी बढाएर प्रचारप्रसार गर्न सके वनमा चहलपहल बढ्न सक्ने अनुमान गरिएको छ ।
वनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न करिब दुई करोड रूपैयाँ बजेटको आवश्यकता पर्ने अध्यक्ष महतोले बताए । बजेटका लागि चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय पालिका, प्रदेश सरकार र केन्द्र सरकारसँग ताकेता गरिरहेको उनले बताए । ‘क्षेत्रफल सानो भए पनि हरेक दिनजसो पाटे बाघ देखिने ठाउँ हो’, उनले भने, ‘केही दिनअघि हामी वनभित्र तालतलैया निर्माण, घुमघाम गर्न मिल्ने ठाउँ आदिका लागि अवलोकन गर्न जाँदा दिउँसै बाघ देखियो ।’
कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रसँग जोडिएको वन भएकोले पनि बाघको चहलपहल राम्रो भएको उनको भनाइ छ । पूर्वमा कुमरोज, दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज, पश्चिममा हात्तीसार र उत्तरमा मगरबस्तीको बीचमा यो सामुदायिक वन अवस्थित छ । क्षेत्रफलको हिसाबले सानो भए पनि उपभोक्ता भने अन्य सामुदायिक वनको तुलनामा धेरै रहेको उनले बताए । उनका अनुसार यो सामुदायिक वनमा हालसम्म करिब एक हजार ८०० बढी उपभोक्ता छन् ।
कुमरोज, सौराहा र चितवन राष्ट्रिय निकुञ्जसँग सहकार्य गरेर थप गतिविधि बढाउन सकिने अध्यक्ष महतोले बताए । थप व्यवस्थित र सुरक्षित बनाएर ‘बर्ड वाचिङ’लाई पनि जोड दिन सकिने उनको भनाइ छ ।