वैशाख ४ गैडाकोट । गैडाकोटको जनक माविमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन् । पोर्न भिडियो पठाउने शिक्षकलाई कारवाहीको गर्नुपर्ने माग राख्दै आन्दोलित बनेका हुन् ।
कक्षा १२ मा अध्ययनरत छात्रालाई सोही स्कुलमा कम्प्युटर पढाउने शिक्षकले पोर्न भिडियो पठाएर यौन दुव्र्यवहार गर्न खोजेको आरोप लागेको छ ।
आरोपीत शिक्षकको राजीनामा मागेका छन् । गैडाकोट प्रहरीको टोलीले आक्रोशित विद्यार्थीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । ३ राउण्ड अश्रुग्याँस प्रहार गरेर अनियन्त्रित भीडलाई नियन्त्रण लिने प्रयास गरेको स्थानीयहरुले बताएका छन् । विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा र छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाएका छन् । । विद्यार्थीहरुको भिडले विद्यालयका झ्याल ढोका, फर्निचर लगायतका भौतिक संरचना तोडफोड गरेको छ । बिद्यार्थीहरुले ढुंगामुढा गर्दा ६ जना प्रहरीसमेत घाइते भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रज्वल श्रेष्ठले जानकारी दिए ।
आरोपीत शिक्षक, अभिभावक र विद्यार्थी प्रतिनिधिबीच करिब १ घण्टादेखि छलफल चलिरहेको छ । घटनाबारे गैडाकोट प्रहरी र विद्यालयले हालसम्म कुनै विवरण सार्वजनिक गरेका छैनन् ।