थारु आकृति समेटिएको स्मार्ट शौचालयप्रति चौतर्फी विरोध : भरतपुर महानगरले तत्काल सच्याउने भयो

चितवन । भरतपुर महानगरले निर्माण गरेको स्मार्ट शौचालयका भित्तामा थारु समुदायको कला–संस्कृति झल्किने आकृति राखिएको भन्दै चौतर्फी विरोध भएपछि महानगरले गल्ती सच्याउने घोषणा गरेको छ।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस र महानगरपालिकाको बीच भागमा निर्माण गरिएको स्मार्ट शौचालयको बाहिरी भित्तामा थारु समुदायले चाडपर्वका अवसरमा घरमा बनाइने परम्परागत आकृति चित्रण गरिएको थियो। यो दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना र आपत्ति व्यक्त गरिएको थियो।

चौतर्फी आलोचनापछि मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तथा प्राविधिक टोलिसहित स्थलगत निरीक्षण गरिएको हो। निरीक्षणपछि मेयर दाहालले भुलवश गरिएको गल्तीलाई तत्काल सच्याइने स्पष्ट गर्दै थारु समुदायसँग क्षमायाचना गरिन्।

उनका अनुसार, “काठमाडौँमा नेवार समुदायको पहिचान झल्किने कला–संस्कृति जस्तै चितवनमा थारु समुदायको पहिचान देखाउन सकिन्छ भन्ने सोच थियो, तर समुदायले आपत्ति जनाएपछि हामीले सच्याउने निर्णय गरिसकेका छौँ। गलत नियत कतै थिएन।”

मेयर दाहालले मातहतका शाखालाई तुरुन्तै आकृति हटाएर पुनःसमायोजन गर्न निर्देशन दिइसकेकी छन्।

थारु समुदायका परम्परा, संस्कृति र पहिचान संरक्षणप्रति भरतपुर महानगर सधैं संवेदनशील रहेको भन्दै दाहालले समुदायलाई अन्यथा नलिन आग्रह गरिन्। उनका अनुसार, “थारु समुदाय अपमानित हुने खालका दृश्य आजैदेखि हटाइन्छ। महनगर तर्फबाट यो गल्ती नदोहोरिनेछ।”

महानगरले हाल दुई स्थानमा स्मार्ट शौचालय निर्माण गरिरहेको छ। वीरेन्द्र क्याम्पस क्षेत्रको शौचालय अन्तिम चरणमा पुगेको र अर्को स्थानमा पनि काम तीव्रगतिमा भइरहेको मेयर दाहालले जानकारी दिइन्।–00—

Share:

सम्बन्धित समाचारहरु