चैत ३० अर्घाखाँची । भारतको हरियाणा हिसारमा भएको आगलागीमा अर्घाखाँचीका १४ वर्षीय बालकको ज्यान गएको छ ।
मंगलबार बिहान भारतको हिसारस्थित राजगुरु मार्केटको राम चाट भण्डारमा आगलागी हुँदा छत्रदेव गाउँपालिका ३ साजबोट अर्घाखाँचीका हिम बहादुर मुखियाका १४ वर्षे छोरा भिम बहादुर मुखियाको घटनास्थलमै मृत्यु भएको हो ।
मुखियासहित १० जना नेपाली मजदुरहरुले काम गर्दै आएको चाट भण्डारमा मंगलबार बिहान करिब ५ बजे विद्युत सर्ट भई आगो लाग्दा सोही पसलमा दुई महिनादेखि काम गर्दै आएका मुखियाको ज्यान गएको छ भने अन्य पाँच नेपाली सामान्य घाइते भएका छन् ।आगलागीका कारण अन्य कामदार बाहिर निस्कन सफल भए पनि बालक मुखिया बाहिर निस्कन नसकेपछि जलेर ज्यान गएको त्यहाँबाट स्थानीय नारायण न्यौपानेले जानकारी दिए ।
घटनालगत्तै घटनास्थलमा पुगेको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ भारत र जनसम्पर्क समिति भारतका नेता तथा कार्यकर्ता त्यहाँ पुगेर चाट भण्डारका मालिकसँग छलफल गरेका थिए ।
उक्त छलफलपछि मृतक बालकका परिवारलाई ८ लाख क्षतिपूर्ति दिलाएर बालकको दाहसंस्कार गर्ने निर्णय गरिएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर कमिटीका सचिव तारा सोमरेले जानकारी दिएका छन् ।