आजदेखि मेलम्चीको पानी सुरुङमा पठाइने:काठमाण्डौमा आउन अझै दुई हप्ता लाग्ने

चैत २९ काठमाण्डौ । सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि सुरुङमा पठाइने भएको छ । आयोजनाको मुख्यद्वार ३८ नम्बरको ढोका खोलेर सुरुङमा पानी पठाउन लागिएको हो ।

आज सिन्धुपाल्चोकको अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले बिहान १० बजे पानी सुरुङमा पथान्तरण गरी उद्घाटन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो ।सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले आजदेखि पानी पथान्तरण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।केही काम अझै बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको समितिका सिनियर डिभिजन इञ्जिनियर पद्मबहादुर कुँवरले जानकारी दिनुभयो ।सरकारले यसअघि चैत मसान्तभित्र पानी काठमाण्डौमा ल्याउने घोषणा गरेको थियो । इञ्जिनियर कुँवरका अनुसार काठमाण्डौमा पानी आउन अझै दुई हप्ता लाग्नेछ ।

असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु(याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो।मेलम्ची खानेपानी आयोजनाको उद्घाटनमा आज प्रधानमन्त्री देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरी सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो।तर निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा जान नपाएको खानेपानी मन्त्रालयले जनाएको छ।खानेपानी मन्त्री उमाकान्त चौधरीले आयोजनाको पुनः उद्घटना गर्ने भएका छन्।मन्त्रालयले मेलम्चीको अम्बाथानस्थित अडिटमा पुगेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५१ सालमा मेलम्ची काठमाण्डौमा ल्याउने परिकल्पनासहित घोषणा गर्नुभएको थियो । एक वर्षअघि २०७७ साल चैत १५ गतेदेखि परीक्षणका रूपमा काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो ।

लगत्तै २० गते राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची आयोजनाको उद्घाटन गर्नुभएको थियो ।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु