चैत २७ एजेन्सी । टर्कीबाट अवैध रुपमा ग्रिस छिर्न खोज्ने ३७ नेपाली पक्राउ परेका छन्।
टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका सबै नेपाली गएको सोमबार मध्यरातमा अवैध रुपमा ग्रिस छिर्ने तयारीमा रहेका प्रहरीले जनाएको छ। पक्राउ परेका ३७ मध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छाडेको छ। पक्राउ परेका अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै रहेका टर्कीस्थित गैरआवासीय नेपाली संघले जनाएको छ।
ग्रिस छिर्ने तयारी अनुसार एउटा घरको पाँचौं तल्लामा धेरै नेपालीहरु जम्मा भएर बसेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। उनीहरुले संगठित मानव तस्करका एजेन्टलाई मोटो रकम बुझाएर अवैध रुपमा युरोप छिर्ने प्रयास गरेका टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले जानकारी दिएका छन्।