आजदेखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन विद्यालयमै खोपकेन्द्र

चैत २५ काठमाण्डौ । १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन आजदेखि राष्ट्रिय अभियान हुँदैछ ।

आउँदो वैशाख १८ गतेसम्म हुने अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका ७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने सरकारको लक्ष्य रहेको छ । टाइफाइडविरुद्धको खोप सुरु गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो । आजदेखि देशभर ५० हजार केन्द्रबाट खोप दिने तयारी छ ।

विद्यालयमै समेत खोपकेन्द्र राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजदेखि राष्ट्रिय अभियान हुँदै भए पनि बालबालिकालाई यसअघि नै खोप दिन सुरु भइसकेको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको उद्घाटन गर्नुभएको थियो ।

हिजो काठमाण्डौको दरबार हाइस्कुलका केही विद्यार्थीलाई खोप दिइएको थियो । परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालकाअनुसार नेपालमा हरेक वर्ष झन्डै चार लाख ५० हजारभन्दा धेरै टाइफाइडबाट सङ्क्रमित हुन्छन् ।पानीजन्य रोगबाट हुने टाइफाइड, हैजाजस्ता समस्या हरेक वर्ष बढिरहेका छन् । टाइफाइडबाट ज्यान गुमाउनेको सङ्ख्या कम भए पनि सङ्क्रमणदर धेरै रहेकाले जोखिममा रहेका समूहलाई खोप दिन थालिएको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताउनुभयो ।

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिएको स्वास्थ्य विभागले जनाएको छ । अभियान १८ वैशाखसम्म चल्नेछ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु